आत्मसमर्पण गरेका चौधरी जेल चलान



काठमाडौं, (नेस)
जिल्ला अदालत कैलालीले राष्ट्रिय जनता पार्टीबाट सांसद पदमा निर्वाचित रेशमलाल चौधरीलाई पुर्पक्षका लागि हिरासतमा राख्न सोमबार आदेश दिएको छ। न्यायाधीश पर्शुराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो।

कैलालीको टीकापुर घटनाका मुख्य आरोपी चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। लामो समयदेखि फरार रहेका चौधरीसँग अदालतले सोमबार नै बयान लिएको थियो।

प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। प्रतिनिधिसभा सदस्यमा जितेपछि उनले वारेसमार्फत नै प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए। अदालतले वारेसमार्फत प्रमाणपत्र दिन नमिल्ने आदेश गरेको थियो। स्मरणीय छ, २०७२ भदौ ७ गते थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्