मन्त्रिमण्डलले अझै पूर्णता पाउन सकेन, एमाले र माओवादी केन्द्रको आन्तरिक किचलो अझै टुंगिएन



नेपाल समाचारपत्र
काठमाडौं
सरकार गठन भएको डेढ सातापछि दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ। तर मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेन। निर्वाचन आयोगले सरकारले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।

त्यसै गरी एक साताभित्र नै मन्त्रिमण्डलले पनि पूर्णता पाउने अपेक्षा गरिए पनि सत्तारूढ दल नेकपा एमाले र माओवादी केन्द्रको आन्तरिक किचलोका कारण मन्त्रिमण्ड विस्तार भए पनि पूर्णता पाउन सकेको छैन। १७ वटा मात्र मन्त्रालय राख्ने निर्णय सरकारले गरे पनि मन्त्री बन्ने आकांक्षीहरूको व्यवस्थापन गर्न एमाले र माओवादीलाई निकै दबाब परेको छ। धेरै नेता आकांक्षी रहेको गृह र अर्थ मन्त्री भने दुवै दलले टुंगो लगाएका छन्। पार्टीभित्रको आन्तरिक विवादको मुख्य कारण रहेको अर्थ र गृह मन्त्रीको टुंगो लागेको छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद् विस्तार भएसँगै एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षा, माओवादी नेता रामबहादुर थापा गृह मन्त्री बन्नुभएको छ। एमालेबाट डा. युवराज खतिवडा अर्थमन्त्री र माओवादी केन्द्रबाट मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएको छ।

गृह मन्त्री बन्नुभएका थापा पूर्वरक्षा मन्त्रीका साथै पार्टीको संगठन विभागका प्रमुख हुनुहुन्छ। त्यसैगरी अर्थमन्त्री खतिवडाले गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ। रक्षा मन्त्री हुनुभएका पोखरेले एमालेका महासचिव हुनुहुन्छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएका यादव पूर्व वन मन्त्री हुनुहुन्छ।

नवनियुक्त मन्त्रीहरूले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीले शपथ लिनुभएको छ। लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको शपथकै दिन मन्त्री नियुक्त हुनुभएको थियो। नवनियुक्त मन्त्रीहरूले सोमबार नै कार्यभार सम्हालेका छन्।

माओवादी केन्द्रले पाँच र एमालेले अझै ६ मन्त्री छनोट गर्न बाँकी रहेको छ। संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी भएको अवस्थामा एमाले र माओवादीको बीचमा भएको १०⁄७ भागवण्डाबाट एक⁄एक मन्त्री घट्ने बताइएको छ।

संघीय समाजवादी फोरमसँग सहमति भएको अवस्थामा अझै पनि मन्त्रिपरिष्दले पूर्णता पाउन अझै केही दिन लाग्ने बताइएको छ। प्रधानमन्त्री नियुक्त भएजस्तै गरी मन्त्रिमण्डलले पनि पूर्णता पाउने अपेक्षा गरिए पनि सरकार गठन भएको डेढ साता बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्