“पत्रकार बन्धु को–को बन्लान् मन्त्री?”

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
मन्त्रिमण्डल विस्तार हुने भएपछि सोमबार बिहानैबाट सिंहदरबारमा अरू दिनको भन्दा भिन्नै चहलपहल थियो। सरोकारवालाहरू कुन कुन मन्त्री आउलान् भनेर समाचार खोज्न मोबाइल र कम्युटरको माउस चलाउँदै अनलाइनमा व्यस्त देखिन्थे। खासगरी विभिन्न मन्त्रालयका कर्मचारीहरूलाई यसमा बढी चासो देखिन्थ्यो। उनीहरू त मन्त्रीको टुंगो लागेर शपथ लिएपछि आ–आफ्नो मन्त्रालय सम्हाल्न आउलान् र स्वागतका लागि तैनाथ हुनुपर्ला भनेर सर्तक देखिन्थे। त्यही भएर होला उनीहरू प्रश्न सोध्थे– ‘पत्रकार बन्धु को को बन्लान् मन्त्री?’

कुनै कुनै मन्त्रालयका कर्मचारी त मन्त्रीमा चर्चा चलेका व्यक्तिलाई फोन गरेर सोधेको गफ लगाउँथे। एकपछि अर्का कर्मचारी मन्त्रालय आउने क्रम जारी रहेको थियो।

एक कर्मचारी भन्दै थिए– ‘आज कुर्नु मात्र पर्न हो कि पहिला नि खै पर्खंदा पर्खंदा रातिको १० नै बजेको थियो, आज नि त्यस्तै हुने हो कि?’ अर्का कर्मचारी हाँस्दै फोनमा सुनाउँदै थिए– ‘खै आज फूल ओइलाउने हो कि⁄ फ्रिजमा राख्नुपर्ला।’

पंक्तिकार पर्यटनबाट अर्थमन्त्रालय पुग्दा पनि त्यस्तै चर्चा, परिचर्चा थियो। कर्मचारी यसैमा गफिरहेका थिए। राजस्व सचिवले एकपछि मन्त्री आउँदै हुनुहुन्छ भनेपछि पछिचाहिँ धेरैलाई विश्वास भएको थियो।

यसैबीच केही मन्त्रीको टुङ्गो पनि लागेछ। शपथ पनि भएछ। मन्त्रीहरूले ४ बजेर ३० मिनेटमा मन्त्रालय सम्हाल्ने निधो पनि भएछ। ‘माथि’ बाट निर्देशन आएपछि ती मन्त्रालय मातहतका निकाय र विभाग, कार्यलय, बोर्डका कर्मचारीलाई स्वागतका लागि तयारी हुन भ्याई नभ्याई भयो। सहसचिव, उपसचिवहरू अधिकृतस्तरका कर्मचारीलाई जम्मा हुन आदेश दिँदै थिए। सबै कर्मचारी हस्याङ फस्याङ गर्दै उनीहरू मन्त्रीको स्वागतका लागि तैनाथ भए।

उनीहरूले जानकारी दिँदै गरेको सुनिन्थ्यो– ‘कोही सबै व्यवस्थापन गर्दै छौं, कोही मन्त्री ज्यूको साजसज्जामा लाग्नुभएको छ, कोही सरसफाइमा त कोहीलाई फूल ल्याउन पठाइएको छ।’ कुर्दा कुर्दै अर्थमन्त्री युवराज खतिवडा अर्थ सचिवसँगै मन्त्रालय आउनुभयो। स्वागत लिएर हाँस्दै भन्नुभयो– ‘म पनि फूल लिएर धेरै जनाको स्वागतमा बसें, धरै समय बिताएँ, २५ वर्षपछि पालो आयो। तपाईंहरूको पनि पालो आउँछ सबैको ब्राइट फ्युचर छ।’

यसरी विभिन्न मन्त्रालयका कर्मचारीको दिनचर्या सोमबार को मन्त्री बन्ला र स्वागतका लागि कति बेलासम्म बस्नुपर्ला भनेरै बितेको थियो।