म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित


लन्डन, (एजेन्सी)
ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित भएको छ। आइतबार ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै चेल्सीमाथि २–१ ले जित हासिल गरेको हो। निक्कै प्रतिस्पर्धात्मक उक्त खेलको ३२औं मिनेटमा विलियनको गोलमार्फत चेल्सीले शुरुआती अग्रता लिएको थियो। तर खेलको ३९औं मिनेटमा रोमेलु लुकाकूले बराबरी गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए। यस्तै खेलको ७५औं मिनेटमा जेस्से लिन्गार्डले गोल गर्दै युनाइटेडलाई २–१ ले अगाडि पारे। त्यसपछि भने खेलमा कुनै गोल भएन र युनाइटेडको जित सुनिश्चित बन्यो। जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडको २८ खेलबाट ५९ अंक भएको छ।

स्वारेजको ह्याट्रिकमा बार्सिलोनाको जित

इंलुइस स्वारेजको ह्याट्रिकमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ। ला लिगाअन्तर्गत शनिबार भएको खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै बार्सिलोनाले जिरोनालाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा जिरोनाले आश्चर्यजनक शुरुआती अग्रता लिएको थियो। पाहुना टोलीका लागि तेस्रो मिनेटमा क्रिस्टियन पोर्टुले गोल गरेका थिए। तर खेलको १६औं मिनेटमा मेसीको पासमा स्वारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि मेसीले खेलको ३०औं र ३६औं मिनेटमा २ गोल गर्दै बार्सिलोनाको गोल संख्या ३ पुर्याए। गिरोनाविरुद्ध गोल गरेसँगै मेसी ला लामा ३६ फरक क्बलविरुद्ध गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले राउल र अडुरिजले ३५ क्लब विरुद्ध गोल गर्दै बनाएको कीर्तिमान भंग गरेका हुन्। यस्तै स्वारेजले खेलको ४४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–१ ले अग्रता लिएको थियो।

यस्तै खेलको ६६औं मिनेटमा फिलिप कौटिन्होले डी एरियाभन्दा बाहिरबाट प्रहार गर्दै बार्सिलोनाका लागि पाचौं गोल गरे। त्यसको १० मिनेटपछि नै स्वारेजले ७६औं मिनेटमा बार्सिलोनाका लागि छैटौं गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

यस्तै अर्को खेलमा रियल मेड्रिडले आलाभेसलाई ४–० को फराकिलो अन्तरले हराएको छ। रियलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोलको योगदान गरे। खेलको ४४औं मिनेटमा रोनाल्डोले गोल गर्दै पहिलो हाफसम्म रियललाई १–० ले अग्रता दिलाएका थिए। यसैगरी खेलको ४६औं मिनेटमा गेरेथ बेलले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। यस्तै खेलको ६१औं मिनेटमा रोनाल्डोले रियलका लागि दोस्रो तथा ला लिगामा आफ्नो १४औं गोल दर्ता गरे। खेलको ८९औं मिनेटमा पाएको पेनाल्टीमा बेन्जेमाले गोल गर्दै रियलको फराकिलो जित सुनिश्चित गरेका थिए।

ला लिगामा यस सिजन मेसी २० गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। यस्तै १७ गोल गरेका सुवारेज दोस्रो तथा १६ गोल गरेका सेभियाका इगो असपास तेस्रो स्थानमा छन्। रियल मेड्रिडका चर्चित स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले १४ गोलका साथ चौथो स्थानमा छन्। शनिबार जितसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको रियलको २५ खेलमा ५१ अंक रहेको छ। लिग लिडर बार्सिलोनाको पनि २५ खेलबाट ६५ अंक भएको छ।