आज मन्त्रिमण्डल विस्तार



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डललाई पूर्णता दिनुहुने भएको छ। सरकार गठन भएको एक सातापछि एमाले र माओवादी केन्द्रबाट पन्ध्र मन्त्री थपेर सरकारलाई पूर्णता दिन लाग्नुभएको हो।
सरकारमा सहभागी मन्त्रीहरूको बारेमा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा सहमति भए पनि पार्टीभित्रको आन्तरिक किचलोका कारण मन्त्री छनोट हुन सकेको छैन। एमाले र माओवादीभित्र मन्त्री बन्ने आकांक्षीको संख्या धेरै भएकाले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मन्त्री छनोट गर्न सकस परेको छ।

एमालेको भागमा परेको १० मन्त्रालयमध्ये अब ८ मन्त्रालयमा मात्र मन्त्री चयन गर्न बाँकी छ भने माओवादी केन्द्रले ७ जना मन्त्री छनोट गर्न बाँकी छ। दुई पार्टीबीच सहमति भएर पनि मन्त्री बन्ने आकांक्षीको व्यवस्थापन पक्ष पेचिलो भएकाले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मन्त्रीको अन्तिम नामावली आज सोमबार सार्वजनिक गर्न लाग्नुभएको बताइएको छ।

एमालेबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाएको एमालेका एक नेताले बताए। उनका अनुसार महासचिव ईश्वर पोखरेल अर्थ र सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने करिब टुंगो लागेको छ। अन्य मन्त्रीका बारेमा भने प्रधानमन्त्रीले अन्तिम निर्णय शपथअघि मात्र लिने तयारी गर्नुभएको बताइएको छ। प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सोमबार मन्त्रिपरिषद् विस्तार हुने तयारी भएको बताउनुभयो। एमालेबाट दुई दर्जनभन्दा बढी मन्त्री बन्ने आकांक्षी रहेका छन्।

त्यसै गरी माओवादी केन्द्र्रभित्र पनि गृहमन्त्री को भन्ने विवाद चुलिएका कारण पार्टी अध्यक्ष प्रचण्ड दबाबमा परेको बताइएको छ।

केन्दीय कार्यालयकाले बैठकले मन्त्री छनोट गर्ने अधिकार प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ। माओवादीबाट थापा, नेता वर्षमान पुन, र जनार्दन शर्माले गृहमन्त्री बन्नुपर्ने अडान राख्दा प्रचण्ड दबाबमा परेको बताउँदै माओवादीका एक नेताले भने– ‘सात मन्त्रीको नाम टुंगो लागिसकेको छ, गृहमन्त्रीको बन्ने विषयमा सोमबार नै सार्वजनिक हुन्छ।’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आज मन्त्रीमण्डल विस्तार हुने बताउनुभयो। उहाँले पार्टीले मन्त्री छनोटका लागि अन्तिम गृहकार्य गरिरहेको जानकारी दिनुभयो। राष्ट्रपतिका प्रेस विज्ञ माधव शर्माले आज ४ बजे मन्त्रीहरूको सपथ हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्