प्रबुद्ध समूह प्रतिवेदन लेखनमा जुट्ने



काठमाडौं, (नेस)
नेपाल–भारत प्रबुद्ध व्यक्ति (ईपीजी) समूह अहिलेसम्म भएका द्विपक्षीय बैठक र छलफलका विषय समेटी प्रतिवेदन लेखनमा जुट्ने भएको छ। आइतबार काठमाडौंमा सम्पन्न समूहको सातौं बैठकमा दुवै मुलुकका अधिकारी यसमा सहमत भएका हुन्।

दुवै मुलुकको सम्बन्धलाई थप उचाइमा पुर्याउने गरी समूहले काम गरिरहेको समूहका नेपाल संयोजक भेषबहादुर थापाले बताउनुभयो। बैठकपछि सञ्चारकर्मीसँगको भेटवार्तामा उहाँले भन्नुभयो– ‘अहिलेसम्म दुवै पक्षबाट समग्र विषय समेट्ने गरी लिखित, मौखिक संवाद र छलफल भएको छ, द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र उचाइमा पुर्याउने काम भएको छ।’

सन् १९५० को सन्धि, व्यापार, सीमा, पारवहनसहित समग्र विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार हुने थापाको भनाइ छ।
१९५० को सन्धि र सीमा सुरक्षाको विषय समयसापेक्ष बनाउने विषयमा अहिलेसम्मका छलफल सकारात्मक र सही दिशातर्फ अघि बढेको दुवै मुलुकको अधिकारीको ठम्याइ छ। समूहले तयार पार्ने प्रतिवेदनले दुवै तर्फको सरकारलाई उत्साह थप्ने भारतीय पक्षका संयोजक एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीको बुझाइ छ।

‘जब हामी दुवै मुलुकका सरकारलाई प्रतिवेदन दिन्छौं, असन्तुष्टी रहने अवस्था रहँदैन, म प्रतिबद्धता जनाउँछु, दुवै पक्ष खुशी हुनेछन्’ –उहाँले भन्नुभयो। दुवै मुलुकका सरकारले आगामी दिनमा विकास र एक अर्काको चासोका विषयलाई गम्भिरतापूर्वक द्धिपक्षीय छलफल अघि बढाउने कोसियारीको विश्वास छ।

विगतमा दुवै मुलुकका प्रधानमन्त्रीहरूको सहमतिअनुसार समूह गठन भएको स्मरण गर्दै उहाँले प्रतिवेदन राम्रोसँग कार्यान्वयन हुने बताउनुभयो। भारतले ५ सय र १ हजार भारतीय रुपियाँमा प्रतिबन्ध लगाएपछिको समस्या अझै बाँकी रहेको बारे सोधिएको जिज्ञासामा यो समस्या नेपालको मात्रै नभएर भारतको पनि भएको कोसियारीको भनाइ थियो।

कोसियारीले केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद् भएको बताउँदै नेपाली जनताले स्थानीय तहदेखि प्रतिनिधि सभासम्मको निर्वाचनमा परिपक्व निर्णय गरेको धारणा राख्नुभयो।

समूहलाई तोकिएको २ वर्षे कार्यअवधि आगामी असार तेस्रो साता सम्पन्न हुने भएसँगै समूहको आठौं बैठक एक महिनापछि भारतको दिल्लीमा बस्ने भएको छ। अन्तिम बैठक समूहलाई तोकिएको कार्य अवधिको आखिरी समय असारको आसपासमा नेपालमा बसेर प्रतिवेदनलाई अन्तिम रूप दिन केन्द्रित हुन सक्ने समुहका नेपाल संयोजक थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्