प्रदेशसभाले बिजनेस नै पाएन



विराटनगर, (नेस)
एक नम्बर प्रदेशसभाको बैठक आज बस्दै छ। आज १ बजे बस्ने बैठकमा कार्यव्यवस्था परामर्श समिति निर्माण गर्ने र प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन गर्ने २ वटा मात्रै कार्यसूची रहेको छ। सदनमा कोही पनि सांसदले आवश्यक समय लिएर मन्तव्य दिने कार्यसूची नरहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो। कार्यव्यवस्था परामर्श समिति भने बढीमा ११ सदस्यीय हुने अन्तरिम कार्यविधिमा उल्लेख छ।

संसद्मा भएका सबै दलबाट १⁄१ जना अनिवार्य सहभागी हुनुपर्ने कार्यविधिमा रहेको छ भने प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिमा भने दलहरूको सहमतिमा आवश्यकताअनुसार सदस्य राख्न सकिने भण्डारीको भनाइ छ।

प्रदेशसभा सरकारले लय पक्रिन नसक्दा संसद्ले आवश्यक बिजनेस पाएको छैन। नियमावली नबनेसम्मका लागि र बिजनेस तय नभएसम्मका लागि संसद् बैठक पुनः नबस्ने सभामुख भण्डारीले बताउनुभयो। संसद्मा आवश्यक विधेयक दर्ताका लागि सरकारले कुनै तयारी अहिलेसम्म गरेको छैन। ६ नम्बर प्रदेशमा प्रदेशको नामांकरण कर्णाली राख्ने र राजधानी सुर्खेतलाई तोक्ने काम गरिसकेको अवस्थामा १ नम्बर प्रदेशमा भने अहिले उक्त विषयमा छलफल नै प्रारम्भ भएको छैन। प्रदेश सरकारले पनि अझै पूर्णता पाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्