जनप्रतिनिधिलाई खुसी पार्न ४६ सय भत्ता



मोतीराम तिमल्सिना, काभ्रे
जनप्रतिनिधिलाई खुसी पार्न एउटा ‘एनजीओ’ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाजा र खाना उपलब्ध गराएको छ।

खाना र खाजाका लागि १ हजार रुपियाँ खर्च गरेको उक्त एनजीओले आवास र यातायातबापत ५ घण्टाको ४ हजार ६ सय रुपियाँ रकम उपलब्ध गराएको हो। सबै जनप्रतिनिधि सदरमुकाम आसपासमै उपलब्ध थिए। सामुदायिक मेलमिलापकर्ता समाज नेपालले आयोजना गरेको सामुदायिक मेलमिलापसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई उक्त रकम उपलब्ध गराइएको सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेतले जानकारी दिनुभयो।

‘जनप्रतिनिधिलाई टाढादेखि आउँदा बासको समेत समस्या पर्ने देखेर हामीले १२ सयका दरले दुई दिनको २४ सय र यातायात खर्च १ हजारको दरले उपलब्ध गराएको हो’, बस्नेतले भन्नुभयो– ‘जनप्रतिनिधिलाई आफ्नो वशमा पार्न पनि त खर्च गर्नुपर्यो नि ?’ बस्नेतले जनप्रतिनिधिलाई आफ्नो वशमा पार्न तलब भत्तासमेत नभएको अवस्थामा रकम उपलब्ध गराएको जानकारी दिनुभयो।

द एसिया फाउन्डेसनको सहयोगमा देशको विभिन्न जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन भइरहेको छ। सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी बनाउन नसकिएको भन्दै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूलाई वशमा ल्याउन उक्त कार्यक्रम गरिएको बस्नेतले जानकारी दिनुभयो।

काभ्रेपलाञ्चोक जिल्लामा विगत वर्षदेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन भए पनि जनप्रतिनिधि निर्वाचित भएसँगै प्रभावकारी नभएकाले सामुदायिक मेलमिलापकर्तालाई प्रभावकारी बनाउन उक्त कार्यक्रम आयोजना गरिएको बस्नेतले बताउनुभयो।

जिल्ला अदालतमा रहेको मेलमिलाप केन्द्र र न्यायिक समिति सक्रिय हुँदा एनजीओले सञ्चालन गरेको सामुदायिक मेलमिलाप केन्द्र प्रभावकारी हुन सकेको छैन। एनजीओले रकम सिध्याउने, पैसाकै आधारमा मात्रै मेलमिलाप गराउने र गलत तथ्याङ्क प्रस्तुत गरी प्रोजेक्ट लम्ब्याउने कार्य भइरहेको भन्दै जनप्रतिनिधिले न्यायिक समितिलाई प्रभावकारी बनाउने तयारी गरिरहेका थिए।

सामुदायिक मेलमिलापकर्ता समाज नेपालले आयोजना गरेको कार्यक्रममा १३ वटै स्थानीय सरकारका प्रतिनिधि सहभागी थिए। ३२ जनाले हस्ताक्षर गरेको उक्त कार्यक्रममा अधिकांशलाई ४६ सयका दरले रकम बुझाईएको छ। विहान ८ बजेबाट २ बजेसम्म आयोजना गर्ने भनिएको कार्यक्रम ढिला गरी सवा ९ बजे शुरु भएको थियो। दिउँसो १ बजे नै समापन गरी बस्नेत रामेछापमा यस्तै कार्यक्रममा सहभागी हुन आइतबार नै पुगेको बताउनुभयो।

प्रति व्यक्ति १ हजारका दरले खाना र खाजाको विल बनाइएको छ। हल भाडासहित झन्डै २ लाख खर्च गरिएको कार्यक्रमबाट चाहेजस्तो सफलता प्राप्त गरेको बस्नेतले बताउनुभयो।

जनप्रतिनिधिले भने यस्तो कार्यक्रम यसअघि नै सरकारी तहबाट भइसकेकाले उपलब्धि नभएको प्रतिक्रिया दिए। भत्ता छ भनेर सहभागी नभएको तर घरमा गएर खाम हेर्दा त्यति धेरै रकम भएकाले दंग परेको जनप्रतिनिधिले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्