राष्ट्रपति भवनको गेटमा विष्फोट अठारको मृत्यु


मोगादिसु, (एजेन्सी)
सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएका २ वटा अत्यन्तै शक्तिशाली बम विष्फोटका घटनामा कम्तिमा १८ व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जर्नौं घाइते भएको सुरक्षाकर्मीहरूले बताएका छन्। एउटा विष्फोट राष्ट्रपति भवनको एउटा द्वारमा भएको र अर्कोचाहिँ राष्ट्रिय गुप्तचर निकायको कार्यालयनजिक भएको बताइएको छ।

सरकारी अधिकारीहरले यी घटनामा संलग्न ५ जना आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानी मारेको बताएका छन्। सोमालियाको संयुक्त राष्ट्रसंघ समर्थित सरकारको विरोध गर्दै आएका इस्लामिक लडाकू समूह अल–सवावले यो आक्रमणको औपचारिक जिम्मेवारी लिएको छ।

सरकारी सञ्चार माध्यमले सुरक्षाकर्मीहरसँग गोली हानाहान भएपछि लडाकूहरुले एउटा सुरक्षा जाँचचौकी विष्फोट गराउन नसकेपछि राष्ट्रपति भवनलाई लक्ष्य बनाइएको जनाएको छ। सरकारी अधिकारीहरूले एउटा होटेलनजिकको पार्क गरिएको एउटा कार अचानक विष्फोट गराइएको दाबी गरेका छन्।

तर अल सबाबले भने राष्ट्रिय सुरक्षा फौजको अखडामा आक्रमण गरेको जनाएको छ। यस समूहले आक्रमणमा १५ जना सैनिक मारिएको पनि दाबी गरेको छ। १ जना प्रहरी प्रवक्ताले राष्ट्रपति भवननजिकको सडकमा सधैं थुप्रो संख्यामा सेनाको तैनाथी रहने गरेको बताएका छन्।

सोमालियाको रेडियो सिम्बाले सुरक्षामन्त्रीले राजधानी मोगादिसुमा एउटा कार बम विष्फोटको संभावना रहेको बताएको भोलिपल्टै यो आक्रमण भएको जनाएको छ। सन् २०११ मा अफ्रिकन युनियनको फौजले विस्थापित नगरुन्जेल अल सबाबले मोगादिसुमा नियन्त्रण जमाएको थियो। गत अक्टोबरमा सोही शहरमा भएको ट्रक बम आक्रमणमा ५ सयजनाभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए।