हात्तीपाइले रोगको औषधि खान आनाकानी



नरेन्द्र केसी, दाङ । लगातार सात बर्षदेखि औषधि खुवाउँदा पनि दाङमा लक्ष्यअनुसार हात्तीपाइले रोगको असर घट्न सकेको छैन । अन्य तराइका जिल्लामा पनि यस्तै समस्या देखिएको छ ।

आर्थिक बर्ष २०६७÷०६८ देखि दाङमा हरेक बर्ष हात्तीपाइले रोगबिरुद्धको औषधि खुवाउने क्रम जारी छ । सामान्यतः छ बर्षसम्म मात्र खुवाउनुपर्ने भए पनि दाङमा लक्ष्यअनुसार रोगीको संख्या नघट्दा दुई बर्ष थप गरेर औषधि खुवाइएको छ । थपिएको मध्ये गत बर्ष खुवाइएको थियो भने यस बर्ष पनि फागुन १२, १३ र १४ गते औषधि खुवाइदैछ ।

‘औषधि खुवाउनुअघि प्रारम्भिक सर्वेक्षणमा ३० प्रतिशत दाङवासी हात्तीपाइले रोगबाट प्रभावित भएका थिए’– जिल्ला जनस्वास्थ्य कार्यालय दाङका मलेरिया निरीक्षक कमल चन्दले भन्नुभयो– ‘लगातार पाँचपटक खुवाएर सर्भे गर्दा त्यो संख्या १२ प्रतिशतमा मात्रै झरेको पाइयो ।’ २०७२ मा गरिएको सर्वेक्षणमा १२ प्रतिशत देखिएपछि पुनः सोही बर्ष र गत बर्ष औषधि खुवाइएको थियो ।

यो बर्षको कार्तिकमा गरिएको सर्वेक्षणमा ६ प्रतिशत दाङवासीमा हात्तीपाइलेको किटाणु देखिएको छ । दाङको सिसहनियाँमा सबैभन्दा धेरै यो रोगको असर देखिएको छ । साविक सिसहनियाँ गाविसमा अहिले पनि १२ प्रतिशतकै हाराहारीमा हात्तीपाइलेका किटाणुबाट ग्रसित व्यक्ति भेटिएका छन् । तर, कूल जनसंख्यामा भने ६ प्रतिशत मात्रै रहेको सर्वेक्षणले देखाएको छ ।

नेपालमा सन् २०२० सम्म हात्तीपाइले निर्मूल गर्ने लक्ष्यका साथ अभियान चलेको छ । ६१ जिल्लामा अभियान चलेकोमध्ये अहिले पनि २४ जिल्लामा अभियान जारी छ भने बाँकी जिल्ला उत्तीर्ण भइसकेका छन् ।

‘हामी दुई बर्षअघि नै उत्तीर्ण हुनुपर्ने हो तर सकेनौं’– जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलले भन्नुभयो– ‘उत्तीर्ण हुन नसक्दा हामी पुरानै कक्षामा अध्ययन गरिरहेको विद्यार्थी जस्तो उत्तीर्ण हुने प्रयासमा छौं ।’ हात्तीपाइले रोगबाट प्रभावितको संख्या दुई प्रतिशतभन्दा तल झरेपछि मात्रै जिल्ला उत्तीर्ण भएको मानिन्छ ।

वितगको तुलनामा क्रमिकरुपले सुधार आए पनि सन्तोषजनक अवस्था भने नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म ७ पटक अभियानकैरुपमा हात्तीपाइले रोगको औषधि खुवाइएको छ तर विभिन्न कारणले मानिसहरुले औषधि सेवन नगर्ने गरेकाले तथ्याङ्कमा सन्तोषजनक सुधार नआएको प्रमुख पोख्रेलले बताउनुभयो । औषधि सेवन गर्दा स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने भ्रम फैलाइएकाले धेरैले औषधि सेवन गर्न नचाहने गरेको स्वास्थ्यकमीहरुको भनाइ छ । उनीहरुका अनुसार शहर बजारमा बस्नेत, पढे लेखेका, जानेका बुझेका र समाजमा अगुवाले औषधि नखाइदिंदा समस्या भएको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि खाँदा कुनै अतिरिक्त असर नगर्ने मलेरिया निरीक्षक चन्दले बताउनुभयो । ‘धेरैले यो औषधि खाँदा विरामी भइन्छ भनेर भ्रम पाल्ने गरेका छन्’– उहाँले भन्नुभयो– ‘त्यस्तो केही पनि हुँदैन, जुन व्यक्तिमा हात्तीपाइलेका किटाणु छन्, उसलाई केही असर गर्छ नै ।’ दुई बर्षभन्दा कमका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी र सिकिस्त विरामीबाहेक अरु सबैले यो औषधि खान मिल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्