संघीय संसद्मा कर्मचारी अभाव

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
संघीय संसद्मा दरबन्दीभन्दा १ सय ५८ कर्मचारी कम रहेका छन्। संघीय संसद्मा रहेका ४ सय ३५ को कर्मचारी दरबन्दीमा अहिलेसम्म २ सय ७७ मात्र कर्मचारी कार्यरत छन्। संघीय संसद् भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभा बुझाउँछ।

संसद् सचिवालयका कर्मचारी प्रशासन शाखाका अधिकृत नेत्रप्रसाद भुसालले कर्मचारी कम भएकाले जिम्मेवारी बढी हुने अवस्था आएको बताउनुभयो। धेरैजसो प्राविधिक पद रिक्त भएको शाखाले जनाएको छ। लोकसेवा आयोगले नै कर्मचारी पदपूर्ति गर्ने भएकाले आवश्यकताअनुसार पदपूर्ति गरिँदै जाने कर्मचारी प्रशासन महाशाखाका सहसचिव सुरजकुमार दुराले बताउनुभयो।

संघीय संसद्मा १ सय ३१ मर्यादापालक माग गरिएको छ। दुवै सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा फागुन २१ गते बस्ने छ। भुसालले गृह मन्त्रालयमा मर्यादापालक पठाइदिनका लागि मंगलबार पत्राचार गरिएको बताउनुभयो। ‘सचिवालयले गृह मन्त्रालयमा पत्र पठाएर मर्यादापालक माग गरेको छ’, भुसालले भन्नुभयो– ‘कहिलेकाहीं मर्यादापालकको संख्या बढी चाहिन्छ, यति भए व्यवस्थापन गर्न सकिन्छ भन्ने हो।’ संसद्मा आन्दोलन र असहमति भएका बेला थप मर्यादापालक मगाइएको थियो। शाखाले १६ गतेसम्म सचिवालयमा सम्पर्क राख्न पनि मर्यादापालकलाई अनुरोध गरेको छ। नेपाल प्रहरी नै मर्यादापालक रहनेछन्। ९७ मर्यादापालकको दरबन्दी भए पनि बढी संख्यामा काम गर्दथे। गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले आवश्यकताअनुसार मर्यादापालक खटाइने जनाउनुभयो। ‘सुरक्षालाई प्रभावित नहुने गरी मर्यादापालक खटाउँछौं।’ –दुवाडीले भन्नुभयो।

बैठकको तयारी गर्दै सचिवालय
सोमबार राष्ट्रपतिले संघीय संसद्को बैठक आह्वान गरेपछि संसद् सचिवालयले आन्तरिक तयारी शुरू गरेको छ।

सचिवालयका सह–सचिव तथा प्रवक्ता डा. भरतराज गौतमले बैठकका लागि प्रायजसो तयारी भइसकेको जनाउनुभयो। ‘पहिलेदेखि नै आन्तरिक गृहकार्यमा थियौं, अब झन् बढी सक्रिय हुन्छौं’, गौतमले भन्नुभयो– ‘संसद् सञ्चालनका लागि अन्तरिम कार्यविधि बनेको छ, पहिलो बैठकले यसलाई पारित गरेपछि थप प्रक्रिया अघि बढ्छ।’ संसद्को जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ खाएपछि उहाँले नै संसद्का अन्य सदस्यलाई संसद् भवनमा शपथ खुवाउनुहुनेछ।

गौतमले पहिलो दिनको बैठक औपचारिक हुने बताउनुभयो। ‘सामान्य प्रक्रिया गर्ने तयारी हो, कम खर्चिलो होस् भन्ने सोचमा छौं, धेरै झकिझकाउ नहुन सक्छ’, गौतमले भन्नुभयो– ‘पहिलो बैठकमा सबैजसो दलका नेताले बोल्ने सम्भावना छ।’