खुसी नेपाली समृद्ध नेपालः प्रम

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचनले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाएको बताउनुभएको छ। उहाँले निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्न देशको भाग्य र भविष्य आफै निर्धारण गर्न मार्ग प्रशस्त गरेको बताउनुभएको हो।

दोस्रो निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो।

‘हाम्रो उद्देश्य आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापन र रोजगारीको प्रवद्र्धन गर्दै सुखी नेपाली, समृद्ध नेपाल निर्माणतर्फ केन्द्रित हुनुपर्छ।’ –उहाँले भन्नुभयो। नेपालको संविधान २०७२ जारी भएपछि निर्वाचन आयोगको भूमिका र दायरा अझ बढी व्यापक हुन पुगेको बताउँदै उहाले विश्वपरिवेशमा भइरहेको द्रुततर विकासको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरमा स्थापित निर्वाचनका मूल्य मान्यता अनुकूल स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन व्यवस्थापन गर्नु नै निर्वाचन आयोगको प्रमुख चुनौती रहेको औंल्याउनुभयो।