आसफाल्ट प्लान्टका कारण बस्ती नै प्रदूषित

0
Shares

सुरेश तामाङ, काठमाडौं
नख्खु खोला किनारमा आसफाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न अलकत्रा र चिप्स मिक्सिङ गर्ने मेसिन) सञ्चालनमा आएपछि स्थानीय प्रभावित बनेका छन्। छोटो समयका लागि स्थापित भनिएको सो प्लान्ट लामो समयसम्म सञ्चालनमा आएपछि प्लान्टबाट निस्कने दूषित धुवाँ, धूलोले हैरान भएको स्थानीयबासीले गुनासो गरेका छन्।

सो प्लान्ट १८औं सार्क शिखर सम्मेलनका बेला सडक कालोपत्रे गर्ने चटारोले ललितपुर महानगरपालिका वडा २७ सुनाकोठीअन्तर्गतको नख्खु खोला किनारमा स्थापना गरिएको थियो। तर सार्क बैठक सकिएको तीन वर्ष बितिसक्दासम्म नहटाइएकामा स्थानीयबासी आक्रोशित बेनेका हुन्।

प्लान्टले भैंसेपाटी, नखिपोट, सुनाकोठीबासीलाई प्रत्यक्ष असर गरेको छ। यी प्लान्ट उद्योग बस्तीको २ देखि ५ मिटरको दूरीमा निर्बाध सञ्चालनमा रहे पनि सम्बन्धित निकाय मुकदर्शक बनिरहेको छ।

नेपालको संविधान २०७२ को धारा ३० मा उल्लिखित वातावरणसम्बन्धी हकमा प्रत्येक नेपाली नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने र वातावरणीय प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति दिलाउनुपर्ने व्यवस्था गरिएको छ।

यो प्रावधानबारे जानकारी गराई प्लान्ट हटाउनुपर्ने माग राख्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको एक स्थानीयबासीले बताए। ती स्थानीयबासीले गुनासो गरे– ‘आफूहरूले संघर्ष समिति नै बनाई जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, संसदीय समितिलाई समेत जानकारी गराए पनि त्यसमा सुनुवाइ भएन।’ स्थानीयबासीले त नेकपा माओवादी केन्द्रका नेता शारदाप्रसाद अधिकारीको लगानी रहेको शैलुङ कन्ट्रक्सन प्रालिले सो प्लान्ट स्थापना गरेकाले राजनीतिक दबाबमा नहटाइएको दाबी गरे।

एक स्रोतले नाम नखेल्ने सर्तमा भन्यो– ‘यसको बचाउमा माओवादी केन्द्रका नेता दिनेश महर्जनदेखि पेरिसडाँडासम्मको संरक्षण छ। नेता महर्जनको पनि २० प्रतिशत शेयर छ।’ स्रोतका अनुसार त्यहाँ स्थानीय टोले गुण्डालाई तलब दिएरै राखिएको छ।

स्रोतले बताएअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अधिकारीको खुमलटारस्थित घरमा डेरा गर्नुभएको छ भने उहाँकै सिफारिसमा अधिकारीलाई समानुपातिक सांसदमा मनोनयन गरिएको छ। प्लान्टमा शेयर रहेको भनिएका नेता महर्जन पनि अधिकारीजस्तै समानुपातिक सांसदमा मनोनयनमा पर्न सफल भएका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले यसबारे आफूलाई केही थाहा नभएको दाबी गर्दै स्थानीयले विरोध गरेको वा उजुरी परेकोबारे सूचना नभएको जिकिर गर्नुभयो। उद्योग स्थापना गर्न वातावरण संरक्षण ऐन २०५३ को दफा ३ बमोजिम वातावरणीय परीक्षण तथा वातावरण प्रभाव मूल्यांकन गर्नुपर्ने हुन्छ। ललितपुर महानगरपालिकाका अनुसार सो प्लान्टले यस्तो खालको मूल्यांकन गराएको पाइएको छैन।

विज्ञहरूका अनुसार मानव स्वास्थ्यमा आघात पुर्याउनसक्ने यस्ता प्लान्ट उद्योग बस्तीबाट २ किमि टाढा स्थापना गर्नुपर्दछ। प्लान्ट राख्दा वरिपरि पर्खालले घेरी ६ मिटरभन्दा अग्लो भित्ता बनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको छ। ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले आसफाल्ट प्लान्टले जनस्वास्थ्यमा प्र्र्रत्यक्ष असर गरेकाले महानगरको बोर्ड बैठकले त्यसलाई ललितपुरबाटै हटाउने निर्णय गरी सम्बन्धित वडा कार्यालयलाई पत्राचार गरिसकेको दाबी गर्नुभयो।

२७ वडाका अध्यक्ष बाबुराजा महर्जनले उक्त प्लान्टबारे स्थानीयबाट पटक–पटक गुनासो आएकाले निरीक्षण गरिरहेको बताउनुभयो। यसअघि पनि विभिन्न ठेकेदारहरूद्वारा बागडोलमा सञ्चालित सुनौलो खिम्ती कन्स्ट्रक्सन कम्पनीको आसफाल्ट प्लान्ट स्थानीयको विरोधपछि बन्द भएको थियो।