गाह्रै छ चम्काउन लाली


मुलुक नयाँ मन्त्रीमय भएको छ। केन्द्र, प्रदेश सबैतिर मन्त्री नै मन्त्री। केन्द्रमा भन्दा बढी चुरिफुरी भने प्रदेशका मन्त्रीको बढेको छ। प्रदेशका मन्त्री सपथ लिएबित्तिकै प्रदेशको अनुगमनमा निस्किन थालेका छन्, चुड्कीको भरमा समस्या समाधान गर्छु भने झैं गर्न थाल्या छन्। त्यति मात्र कहाँ हो र, अनेक–अनेक खालका ओठे योजना जनतालाई बाढ्न भ्याइसकेका छन्।

योजना बनाउन के कति बजेट चाहिन्छ, कति समय अवधि लाग्छ भन्ने कुरो नबुझेपनि योजना सुनाउन चाहिँ पछि परेका छैनन्, माननीयहरू। केही दिन अघि एक नं प्रदेशका एक मन्त्रीले आफ्नो प्रदेशमा विदेशीलाई ‘अन अराइभल’ भिषा दिने योजनासमेत सुनाउन भ्याए। माउन्टेन फ्लाइटसहितको सुविधा र त्यस्तो भिषा दिएर विदेशी पर्यटकको चहल–पहल बढाउने रे। विदेशी मुद्रा भित्त्याउने रे।

त्यस्तो खबर सुनेर हो क्यार शनिबार केन्द्रका वातावरण मन्त्री यादवले पनि आफ्नो कार्यकालमा काठमाडौंलाई मास्करहित शहर बनाउन घोषणा गरे। अवैध रूपमा चलेका क्रसर उद्योग र अबैध रूपमा निकासा भइरहेको रोडा, ढुंगा नियन्त्रण गर्ने योजना पनि सुनाउन भ्याए। विगतमा मन्त्री भइसकेका उनलाई प्रष्ट थाहा हुनुपर्ने हो क्रसर, रोडा, गिटी, ढुंगाको विषय त धेरै मन्त्रालयसँग जेलिएको छ।

त्यसरी जेलिएको गाँठो निकै चल्तीका नेताहरूसँग पनि जोडिएको उनलाई हेक्का छ कि छैन होला ? त्यस्तो गाँठो तोड्न सकेभने मात्रै लालबाबुको ओठमा लाली चम्किएला।