आर्मीको विजयी शुरूआत


नेपाल समाचारपत्र
काठमाडौं
तेस्रो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेका छन्। आइतबारदेखि लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम आर्मीले मध्यपश्चिमाञ्चललाई ३–० को सोझो सेटमा हराएको हो।

समूह ए अन्तर्गतको खेलमा आर्मीले मध्यपश्चिमको चुनौती २५–८, २५–१२, २५–१४ ले पन्छाएको थियो। यस्तै आइतबारै भएको समूह बी को खेलमा पश्चिमाञ्चलले पनि जित दर्ता गरेका छन्। पश्चिममान्चलले पूर्वाञ्चललाई २५–१७, २५–२१, २५–१४ ले पराजित गरेको हो।

प्रतियोगिताअन्तर्गत सोमवार समूह बी को नेपाल पुलिस क्लब र मध्यमाञ्चल तथा समूह ए को सुदूर पश्चिमाञ्चल र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यसअघि बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच रेफ्रीलाई भलिबल हस्तान्तरण गर्नुभई प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन्।