ओली र प्रचण्डबीच गोप्य वार्ता, पार्टी एकता र सरकारलाई पूर्णता दिनेबारे सहमति जुट्न सकेन



प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माओवादी निकट व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित प्रसाईंको निवासमा लन्ज मिटिङ गर्दै।

पुष्कर बुढाथोकी, भक्तपुर
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भक्तपुरको निकोसेरास्थित एक व्यवसायीको घरमा भेटवार्ता भएको छ। दुई पार्टी एकतालाई कसरी निष्कर्षमा पुर्याउने र सरकार गठनलाई पूर्णता दिने विषयमा दुई पार्टी अध्यक्षबीच छलफल भएको छ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले सरकार गठनलाई पूर्णता दिने र पार्टी एकतालाई कसरी टुंगोमा पुर्याउनेबारे प्रम ओली र अध्यक्ष प्रचण्डबीच सकारात्मक छलफल भएको बताउनुभयो। करिब ४ घण्टा भएको छलफलमा प्रम ओली र अध्यक्ष ‘प्रचण्ड’ मात्रै सहभागी हुनुहुन्थ्यो।

पार्टी एकता, सरकारमा सहभागिता तथा अन्य राजनीतिक विषयमा प्याकेजमा सहमति जुटाउन प्रधानमन्त्री एवं अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच गोप्य वार्ता भए पनि सहमति जुट्न नसकेपछि आइतबारै बस्ने भनिएको एकता संयोजन समिति बैठकसमेत बस्न सकेन। माओवादीलाई मन्त्रिपरिषद्मा सहभागी गराउने, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका पदको बाँडफाँडमा सहमति जुटाउने र पार्टी एकताबारेमा गम्भीर छलफल भएको बुझिएको छ।

शनिबार ओली र प्रचण्डबीचको छलफलपछि आइतबार एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो। तर, आइतबारका लागि बैठक स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। एकता संयोजन समितिका सदस्य एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौंबाहिर भएकाले एकता संयोजन समिति बैठक स्थगित भएको बताइएको छ।

ओली–प्रचण्ड भेटमा पार्टी एकता र सरकारलाई पूर्णता दिनेबारे छलफल भए पनि ठोस कुनै निर्णय नभएको नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले अझै थप गृहकार्य गर्नुपर्ने देखिएको छ। आज सोमबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः वान टु वान निर्णायक छलफल गरी समितिको बैठक बस्ने तयारी भएको बताइएको छ।

पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पुर्याएर प्याकेजमै सहमति गर्ने तयारी भएको बताइएको छ।

भेटमा प्रधानमन्त्री ओलीले माओवादीलाई सरकारमा सहभागी हुनेहरूको नाम पठाउन प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीका कार्यदिशाको बारेमा सहमति गरौं भन्नु भएको वार्तास्थल स्रोतले जानकारी दिएको छ। पार्टी एकताको सैद्धान्तिक विषयमा केही कुरा मिल्न बाँकी भएको बताइएको छ।

यसअघि आइतबार माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता छानेपछि बैठकमा उहाँले ओलीजीसँग विशेष कुरा गर्दै छु भन्नुभएको थियो र संसदीय दलको बैठकमा समेत लामो समय नबसी प्रचण्ड ओलीसँग गोप्य वार्ता गर्न भक्तपुर आउनुभएको थियो।

बालकोटस्थित अध्यक्ष ओलीको निवासमा नभएर दुई नेताको भेटवार्ता एकान्त स्थल रोज्दै झापाका व्यापारी दुर्गा प्रसाईंको घर निकोसेरा नजिकमा मिलाइएको थियो। बिहान साढे ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भएको छलफलले पार्टी एकताको विषय र भागबन्डा टुंगो लगाउने भनिए पनि छलफल कुनै निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन। वार्तास्थलबाहिर पुगेका सञ्चारकर्मीलाई मूल गेट प्रवेशमै रोक लगाइएको थियो।

निर्वाचनलगत्तै पार्टी एकता हुने भनिए पनि हालसम्म पार्टी एकता नहुँदा र माओवादी केन्द्रका सांसद नयाँ सरकारमा सामेल नहुँदा पार्टी एकताबारे सर्वत्र चासो मौलाएको छ।

प्रतिक्रिया दिनुहोस्