कर्णाली करिडोरमा पहिलोपटक गाडी गुड्यो, स्थानीय हर्षित



कालीवहादुर मल्ल, कालिकोट ।
समग्र कर्णालीको आर्थिक सामाजिक विकाससँग जोडिएको कर्णाली करिडोरमा गाडी गुड्दा सडकले सार्थकता पाएको अनुभूति स्थानीयमा भएको छ ।

‘लामो समयको प्रतिक्षापछि बल्ल गाडी पुगेको छ ।’–‘अब सरर गाडीमा नै यात्रा गर्न पाइने भयो ।’ स्थानीय ऐमान बोगटीले भनिन । कालिकोट जिल्लाको खुलालुदेखि बाजुरा, हुम्ला हुँदै चीनको सिमाना हिल्सा जोड्ने, नेपालकै उत्तर दक्षिण भारत र चिनलाई जोड्ने राष्ट्रिय महत्वको राजमार्ग कर्णाली करिडोरको ३० किलोमिटर सडकखण्डमा गाडी गुड्न सडक उपयुक्त रहेको र गाडीहरुको भाडादर कायम गरेर सार्वजनिक जीप संचालनमा ल्याउन लागेको रारा कर्णाली यातायात प्रा.लि.का अध्यक्ष हस्तबहादुर बमले बताए ।

कर्णालीको ‘ग्रोथ एक्सिस’ का रुपमा रहेको कर्णाली करिडोरको खुलालुदेखि घाटपारीचौरसम्मको ३० किलोमिटरमा रारा कर्णाली यातायात प्रालिले गाडी यातायात संचालन गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारीसहितको यातायात ब्यवसायीको टोलीले शनिबार सडकको अनुगमन गर्दै यातायात संचालन गर्ने भएको हो । रारा कर्णालीका २० वटा जीप सहित घाटपारीचौरसम्म अनुगमन टोली पुग्दा त्यहाँका स्थानीयबासीहरु निकै उत्साहित देखिएका थिए ।

‘कर्णालीको आर्थिक सम्मृद्धिका साथै व्यापारीक राजमार्गका रुपमा लिईएको करिडोरको घाटपारीचौरसम्म सार्वजनिक जीप चलाउने तयारी गरेका छौं ।’ उनले भने,–‘पहिलो चरणमा २० वटा जीप संचालनमा ल्याउने तयारी गरेका छौं ।’

विगत ११ बर्षदेखि सडक विभागले काम थालेको कर्णाली करिडोरमा करोडौ बजेट खर्चिएपनि अपेक्षित काम हुन नसकेपछि कर्णाली करिडोरको निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । नेपाली सेनालाई २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्री स्तरीय निर्णय भई त्यसैको चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात गरेको थियो ।

कर्णाली करिडोर निर्माणको जिम्मा नेपाली सेनाले लिइको छोटै समयमा नै सडक निर्माणको कामले तिब्रता पाएको स्थानीय रामबहादुर शाहीले बताए । ‘कर्णालीको भाग्यसँग जोडिएको राजमार्गले सेनाले जिम्मा लिएपछि कामले तिब्रता पाएको छ ।’ उनले भने,–‘बिगतको भन्दा काम निकै अगाडी बढेको छ ।’
लालिघाटदेखि बाजुराको अर्थिङगे चौरसम्मको ६८ दशमलव ५ किलोमिटर सडकको आँशिक ट्रयाक खुल्ला हुने भएको छ । आउने आर्थिक बर्षको दोस्रो चौमासिक सम्म कर्णाली करिडोरको कालिकोट खण्ड ४० किलो मिटर ट्रयाग ओपन गरि सडक विभागलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

कर्णाली करिडोर कालिकोट खण्ड ४० किलोमिटर, बाजुरा खण्ड ४३ किलोमिटर र हुम्ला खण्ड १ सय १३ दशमलव ३४७ किलोमिटर गरी १ सय ९६ दशमलव ३४७ किलोमिटर रहेको छ । वि.सं. २०५७ सालमा कालिकोट करिडोरको शिलान्यास गरिएको थियो । शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो ।

कर्णाली करिडोर खुलालु–सिमीकोट खण्डको करिब ७० किलोमिटरसम्मको सडक गाडी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको छ । हाल लालीघाटदेखि घाटपारीचौर सम्मको ३३ किलोमिटरमा गाडी संचालनमा रहेको अन्य ठाउँमा निर्माण कार्य पुरा भएको छ । भुक्काखोलाको भीर फोडेमा ७० किलोमिटरसम्मको सडक गाडी गुड्ने भएको हो ।

कर्णाली करिडोरअन्तर्गत खुलालु–सिमीकोट सडकखण्डको ६६ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भएको नेपाली सेना निर्माण कार्यदलका मिलन कार्कीले बताएका छन । उनका अनुसार कालिकोटको लालीघाटदेखि घाटपारीचौर ३३ किलोमिटर र बाजुराको राताडाँडादेखि अर्थुगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण भएको छ । कर्णाली करिडोर अन्तर्गतको १ सय ९६ किलोमिटर सडकखण्डमध्ये खुलालु–सिमीकोट ६६ किलोमिटरमा गाडी सञ्चालन गर्न सकिने छ । भुक्काखोलादेखि तोलीभीरसम्म ४ किलोमिटर भीर फोड्न बाँकी रहेको छ ।

अहिलेसम्म ६६ किलोमिटर कार्य पूरा भएको छ । कर्णाली करिडोर निर्माण नेपाल सरकारले १ अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट रहेको छ । कर्णाली करिडोरको १ सय ४५ किलोमिटर खुलालुदेखि हुम्लाको सलिसल्लासम्म नेपाली सेनालाई निर्माण जिम्मा दिइएको छ भने सलिसल्लादेखि हुम्लाको सिमीकोटसम्म ५१ किलोमिटर सिमीकोट हिल्सा सडक आयोजनाको जिम्मा दिइएको छ । हिल्सा सिमिकोट सडकखण्ड पनि छोटिँदै कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ । ९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडी आवत–जावत गर्न थालेका छन् ।

सडक आयोजना प्रमुख विजयकुमार थापाका अनुसार तुम्कोटस्थित कर्णाली नदीमा यो वर्ष ‘बेलिब्रिज’ निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो । ओखरथलामा गत वर्षमै ट्रयाक खुलिसकेको थियो। यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोामिटर मात्र गाडी गुड्ने गरेका थिए । हिल्सा सिमीकोट सडकखण्डको ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको रहेको थापाले बताए। ‘हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि स्थानीय बासिन्दाका आधा दर्जन गाडी गुड्ने गरेको छ ।’ उनले भने, ‘अहिले आधा दर्जन गाडी गुड्न थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्