नेपाल विश्वकप क्वालिफायरमा छनोट



कविरस शर्मा, काठमाडौं
क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै नेपाल डिभिजन १ मा स्तरोन्नति हुनुका साथै अर्को महिनामा हुने वान डे विश्वकप क्वालिफायरका लागिसमेत छनोट भएको छ।

क्यानाडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको थियो। नेपालको ऐतिहासिक जितमा करण केसी नायक बने। उनले नटआउट ४२ रन जोडेपछि डिभिजन–२ को अन्तिम लिग खेलमा नेपालको जित सम्भव भएको हो। करणले ३१ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ४२ रन बनाएका हुन्।

यस्तै एघारौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले १८ बल खेल्दै नटआउट ५ रनको योगदान गरे। लिगमा ५ मध्ये ४ खेल जित्दै सर्वाधिक ८ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै विश्वकप क्वालिफायरमा छनोट भएको हो।

४२ दशमलव १ ओभरमा १ सय ४४ रन जोडेर ९ विकेट गुमाएको अवस्थामा नेपाललाई करण र सन्दीपले दशौं विकेटका लागि ५१ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले ओपनर श्रीमन्थ विजेरत्नेको नटआउट १ सय ३ रनको मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो। यस्तै अर्को खेलमा घरेलु टोली नामिबियालाई पराजित गर्दै यूएई दोस्रो स्थानमा रहँदै वल्र्ड कप क्वालिफायरका लागि छनोट भएको छ।

अब नेपाल र यूएईले मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा भाग लिनेछ। यसबाहेक नेपालले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप र अन्तर महादेशीय प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्न पाउनेछ। विश्वकप छनोटका अन्य टोलीहरूमा वेस्टइन्डिज, अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुवा न्युगिनी रहेका छन्। यी १० टोलीमध्ये शीर्ष दुई टोली सन् २०१९ को विश्वकपमा छनोट हुनेछन्। अब नेपालले उपाधिका लागि यूएईसँग फाइनल म्याच खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्