दाइजो र आमाको भूमिका बुझाउन नाटक

0
Shares

लमजुङ, (नेस)। जिल्लाका बालबालिका नाटकमार्फत दाइजो र आमाको भूमिका प्रस्ट्याउन लागिपरेका छन्। बेंसीशहर नगरपालिका–२ भकुण्डे तालफँँटस्थित मनकामना आवासीय अंग्रेजी माध्यमिक विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सो विद्यालयका छात्रछात्राले त्यस्तो कार्य गरेका हुन्।

दाइजो र आमाको भूमिका नामक सचेतनामूलक नाटक देखाएर कार्यक्रममा अभिभावक तथा उपस्थित अतिथिको मन जित्न सो विद्यालयका छात्रछात्रा सफल भएका छन्। उनीहरुले नाटकमार्फत दाइजोको प्रसंगमा बुहारीभन्दा ठूलो दाइजो अरू हुन नसक्ने तथा असल बुहारी पाउनका लागि आफ्नो छोरीलाई पनि पढाउनुपर्ने सन्देश दिएका थिए। त्यसै गरी आमाको भूमिका नाटकले बालबालिकाका लागि आमा नै पहिलो गुरु भएकाले आमा असल परिवार निर्माणका लागि महत्त्वपूर्ण हुने, प्रत्येक परिवार असल बनेमा गाउँ, समाज र देश नै असल भई शान्ति र विकासको सुनिश्चित हुने सन्देश दिएको छ।

दुवै नाटक अत्यन्तै समसामयिक, सान्र्दभिक र सचेतनामूलक भएको भन्दै कार्यक्रमका सहभागीले प्रशंसा गर्दै रुचिका साथ हेरेका थिए। सोही विद्यालयको कक्षा ९ र १० का छात्रछात्राले दाइजो र आमाको भूमिका नाटक लेखी निर्देशनसमेत गरेर प्रदर्शन गरेको विद्यालयका संस्थापक अमृत सुवेदीले बताए।