विश्व चर्चित खेलाडी जोडी


कविरस शर्मा, काठमाडौं

प्रकृतिले सिर्जेको भावनात्मक आभास हो प्रेम। प्रेम नै सृष्टि प्रक्रियाको आधार पनि हो। मानव जातिमा मात्र होइन, सम्पूर्ण प्राणीमा यो त्यत्तिकै महत्त्वपूर्ण छ। प्रेमको दायरा भिन्न हुन्छ, तर प्रेमबिनाको संसार भने असम्भव नै छ। हरेक वर्षको फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन्स डे’ अर्थात प्रणय दिवसका रूपमा संसारको प्रायजसो देशहरूमा मनाउने गरिन्छ। शायद प्रेममा नै संसार अडेको हुनाले अहिले विश्वभर भ्यालेन्टाइन्स डेलाई संसारका जुनसुकै धर्म र जातिकाहरूले पनि साझा पर्वका रूपमा अपनाउन थालेका छन्। अपवादका रूपमा विश्वका केही स्थानहरूमा भ्यालेन्टाइन्स डे मनाउन विरोध गरिए पनि यसको महत्त्वले भने हरेक वर्ष बलियो जरा गाड्दै गइरहेको छ। विशेषतः पश्चिमेली राष्ट्रमा मात्र सीमित यो दिवस करिब २ दशक यता नेपालमा पनि उत्सवका रूपमा मनाउन थालिएको छ।

पछिल्ला केही समययता १४ तारिख आउन १ साताअघि नै भ्यालेन्टाइन्स डे मनाउने क्रम पनि बढ्दो छ। रोज डे, प्रपोज डे, चकलेट डे, टेड्डी डे, प्रोमिस डे, हग डे, किस डे गर्दै आठौं दिनमा बल्ल भ्यालेन्टाइन्स डे मनाउने प्रचलनले गति लिन थालेको छ। भ्यालेन्टाइन्स विक का रूपमा यो परिमार्जित हुने क्रम बढ्दो छ। संसारका हरेक क्षेत्र झैं खेलकूद क्षेत्र पनि प्रेमबाट अछूतो छैन। खेललाई कर्मथलो बनाएका पुरुष र महिला खेलाडीबीचको प्रेम प्रसंग र दाम्पत्य जीवनका कुराहरू कुनै नौलो विषय पनि होइन। विशेष गरी विश्वप्रसिद्ध यस्ता थुप्रै खेल जोडीहरू छन्, जसले प्रेमविवाह गरेका छन्। तीमध्ये कतिपयको दाम्पत्य जीवन सुमधुर नै छ भने कतिपयको सम्बन्धविच्छेद पनि भएको छ।

जसमध्ये टेनिस खेलाडी अन्ना कोर्निकोभा र आइस हक्की खेलाडी सर्जी फेडेरोभ, टेनिसका क्यारोलिन वज्नीयाकी र गल्फ खेलाडी रोली मेकलोरे, टेनिसकै सेरेना विलियम्स र ग्रिगोर डिमिट्रोभ, गल्फका महान् खेलाडी टाइगर उड्स र अल्पाइन स्केटिंग रेसर लिन्ड्से भोनको सम्बन्ध टुटिसकेको छ। तीबाहेक प्रेमविवाहले दिगो रूप लिइरहेको केही विश्वप्रसिद्ध खेल जोडीहरूको प्रस्तुति यहाँ गरिएको छ।

आन्द्रे आगासी र स्टेफी ग्राफ
अमेरिकाको लस भेगासमा जन्मेका टेनिसका महान् खेलाडी आन्द्रे आगासी र जर्मन महिला टेनिस लेजेन्ड स्टेफी ग्राफले प्रेमविवाह गरेका हुन्। पूर्वविश्व नम्बर एक खेलाडी आगासी अनौठो प्रेम कथासँग जोडिएका छन्। उनले ९० को दशकमा टेनिसमा तहल्का मचाउन सफल पूर्वमहिला शीर्षस्थ खेलाडी ग्राफसँग सन् २००१ अक्टोबर २२ मा विवाह गरेका हुन्। टेनिसका यी हस्तीहरूको विवाह भएको ४ दिनमै सन्तान जन्मिएपछि चर्चा चुलिएको थियो।

वास्तवमा ग्राफ र आगासीबीच विवाहभन्दा केही वर्षअघिदेखि नै नजिकको सम्बन्ध रहँदै आएको थियो। प्रेम सम्बन्धकै क्रममा ग्राफ सन् २००१ मा गर्भवती भएपश्चात उनीहरू वैवाहिक सम्बन्धमा बाँधिएका थिए। त्यसको चार दिनमै स्टेफीले छोरा जदेन गिललाई जन्म दिएकी थिइन्। उनीहरूले सन् २००३ मा पुत्री लाभ गरेका थिए। स्टेफी आगासीका दोस्रो पत्नी हुन्। यसअघि आगासीले सन् १९९७ मा हलिउड अभिनेत्री ब्रुक शिल्डसँग बिहे गरेका थिए, जुन २ वर्ष मात्र टिकेको थियो। यता ग्राफको पनि ९० को दशकमा पहिले टेनिस खेलाडी अलेक्जेन्डर म्रोञ्ज र पछि फर्मूला वान ड्राइभर माइकल बार्टेल्ससँग प्रेमसम्बन्ध रहेको थियो।

आगासी र स्टेफीको जोडीले कूल ३० वटा ग्रान्डस्लाम उपाधि आफ्नो घरमा सजाएका छन्। जसमध्ये स्टेफीको नाममा २२ र आगासीले ८ वटा ग्रान्डस्लाम जितेका छन्। आगासीले कुनै समय टेनिसको बरियताक्रममा लामो समयसम्म विश्वकै शीर्षस्थ स्थानमा रहेर अनौठो कीर्तिमान बनाएका थिए। यस्तैगरी ग्राफ पनि आफ्नो समयका सबैभन्दा उत्कृष्ट महिला टेनिस खेलाडी थिइन्।

बास्टियन स्वाइन्स्टेगर र अना ईभानोभिच
फुटबल र टेनिसको संगमको रूपमा रहेको छ बास्टियन स्वाइन्स्टेगर र अना इभानोभीचको जोडी। बास्टियन सन् २०१४ को फिफा विश्वकप विजेता जर्मनी फुटबल टिमका एक मुख्य खेलाडी हुन भने अना पनि टेनिस जगतकी चर्चित खेलाडीमध्येका एक हुन्। यी दुईले सन् २०१६ को जुलाईमा लगनगाँठो कसेका हुन्। शुरूमा एकअर्काको समर्थक बन्दै यी दुईले मित्रताको सम्बन्ध गाँसेको थियो। जुन प्रेम सम्बन्धमा परिणत हुँदै अन्ततः वैवाहिक जीवनको रूप लिएको हो। सन् २०१४ मा पहिलोपटक यी जोडीले एक अर्कालाई डेट गरेका थिए। सोही क्रममा बास्टियनले सर्बियाको झन्डाअंकित जुत्तामा पहिलो डेटको मिति ०५⁄०९⁄२०१४ लेखेका थिए।

अहिले फुटबलबाट बिदा लिइसकेका ३२ वर्षीय बास्टियनले सन् २००४ मा जर्मनीको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। १२ वर्षको अन्तराष्ट्रिय करियरमा उनले जर्मनीको तर्फबाट १ सय २१ खेलमा २४ गोलको योगदान गरेका छन्। उनले जर्मनीका तर्फबाट युरोपियन च्याम्पियनसिपमा सर्वाधिक १८ म्याच खेलेका छन्। करियरको अन्तिम समय म्यानचेस्टर युनाइटेडमा बिताएका उनले बायर्न म्युनिखले लगातार ८ पटक जर्मन बुन्देसलिगाको उपाधि जित्दा सेन्ट्रल मिडफिल्डरको भूमिकामा उनी मुख्य खेलाडी बनेका थिए।

यता सर्बियाकी अना सन् २००८ को फ्रेन्च ओपन च्याम्पियन हुन्। सन् २०१६ को डिसेम्बरमा रिटायर्ड भएकी अनाको यो करिअरको एक मात्र ग्रान्डस्लाम उपाधि हो। बास्टियनलाई भेट्नुभन्दा अघि उनी गल्फ खेलाडी एडम स्मिथसंग रिलेसनमा थियो। १८ महिनासम्म चलेको पिरती टुटेपछि २९ वर्षीया अनाले बास्टियनलाई जीवनसाथीका रूपमा रोजेकी हुन्। यता बास्टियन पनि सन् २००७ देखि जर्मन मोडेल सराह गार्डनरसंग रिलेसनमा रहेका थिए। तर केही वर्षपश्चात उनीहरू छुटिए।

 

सानिया मिर्जा र शोएब मलिक
भारतीय टेनिस सुन्दरी सानिया मिर्जा र पाकिस्तानी क्रिक्रेटर शोएब मलिकको जोडीले लामो समय मिडियामा चर्चा बटुलेको थियो। विश्वस्तरको टेनिसमा आफ्नो छुट्टै उचाइ बनाएकी सानिया सन् २०१० मा अनलाइनमार्फत भारतमा सर्वाधिक खोजिएकी महिला खेलाडी बनेकी थिइन्। जसको प्रमुख कारण पाकिस्तानका पूर्वक्रिकेट कप्तान तथा अलराउन्डर शोयबबीच विवाह नै भएको थियो। विवाहपूर्व यी दुवै खेलाडीहरूले भिन्नाभिन्नै व्यक्तिहरूसँग औंठी साटेका थिए। सोएबको प्रेममा चुर्लुम्म डुबेकी सानियाले यसअघि आफ्नो बाल्यकालका मित्र तथा धनाढ्य ब्यापारी सोहरब मिर्जासँग भएको इन्गेजमेन्टलाई सन् २०१० को जनवरीमा समाप्त भएको आधिकारिक घोषणा गरेकी थिइन्।

यता आयशा सिद्दीकीसँग सम्बन्ध बनाइसकेकी शोएबले भने आफूलाई अविवाहित नै रहेको दाबी गर्दै आएता पनि कानुनी रूपमा प्रमाणित गर्न नसकेपछि सानियासँगको सम्बन्ध जटिल बन्न पुगेको थियो। यसका बाबजुद पनि सानियाले सोयबको प्रेममाथि विश्वास राखेपछि सोएबले पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरी सानियासँग विवाह गरेका हुन्। त्यसअघि सानिया पनि बलिउड अभिनेता साहिद कपूरसँग रिलेसनमा रहेको हल्ला चलेको थियो। तर सानियाले त्यसमा कुनै सत्यता नरहेको दाबी गरेकी थिइन्।