कोलोम्बो, (एजेन्सी)
माल्दिभ्सका अधिकारीहरूले पक्राउ परेका सर्वोच्च अदालतका दुई न्यायाधीश र पूर्वराष्ट्रपतिमाथि सरकार अपदस्थ गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। प्रहरीले गत हप्ता पर्यटकका लागि स्वर्ग मानिने उक्त टापु राष्ट्रमा संकटकालीन स्थितिको घोषणापछि प्रहरीले छानबिनमा २ लाख डलरभन्दा बढी शंकास्पद पैसा फेला पारेको उनीहरूले बताए।
राष्ट्रपतिमार्फत जारी भएको एक विज्ञप्तिमा पूर्वराष्ट्रपति मोमुन अब्दुल गयुमले अधिकारी र न्यायाधीशलाई घूस दिएको र दंगा भड्काउने प्रयास गरेको उल्लेख गरेको छ। विज्ञप्तिमा उनी र न्यायाधीशहरू सरकार हटाउने प्रयासमा लागेको जनाएको छ।
प्रतिपक्षी नेताहरूले उक्त आरोपलाई अस्वीकार गर्दै राष्ट्रपति यामिन अब्दुल गयुमले उनका राजनीतिक विपक्षीलाई कमजोर पार्ने प्रयास लागेको बताएका छन्।
सर्वोच्च अदालतले जेलमा रहेका विपक्षी नेताहरूको एक समूहलाई रिहा गर्न आदेश दिएपछि उत्पन्न राजनीतिक संकटले सरकार धरमराएको थियो। सरकारले अन्ततः संकटकालीन स्थितिको घोषणा गर्दै दुई न्यायाधीश, गयुम र अन्य राजतीनिज्ञलाई गिरफ्तार गरी आफ्नो स्थिति मजबुत पारेको छ।
माल्दिभ्सको राजनीतिक संकट गहिरिएपछि छिमकी भारतले सैनिक परिचालन गर्ने खतरा बढेको अनुमान गरिएको थियो। निर्वासित पूर्व माल्दिभियन राष्ट्रपति मोहमद नसिदले भारतलाई सैन्य हस्तक्षेपका लागि लगातार आग्रह गरिरहेका थिए। यसैबीच चीनले माल्दिभ्स हुने कुनै पनि सैन्य हस्तक्षेपविरुद्ध चेतावनी दिँदै यस प्रकारको कदमले त्यहाँको स्थितिलाई थप जटिल बनाउने बताएको थियो।











प्रतिक्रिया