संघीय संसद् बैठक सात दिनभित्रै



काठमाडौं, (नेस)
संघीय संसद् बैठकका लागि संसद् सचिवालयले अन्तिम तयारी गरेको जनाएको छ। संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बैठक आह्वान गरेको सात दिनभित्रमा बैठक बोलाए पनि कुनै अप्ठेरो नपर्ने जनाउनुभएको छ। ‘हाम्रो कारणले संसद् बैठक रोकिँदैन, आन्तरिक तयारी भइरहेको छ’, गौतमले भन्नुभयो– ‘बैठक सञ्चालनको अन्तरिम कार्यविधि बन्दै छ।’ सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्कीको संयोजकत्वमा बनेको समितिले अन्तरिम कार्यविधि बनाउँदै छ। कार्यविधिलाई संसद्को पहिलो बैठकले पारित गरेपछि त्यसैअनुसार बैठक सञ्चालन हुनेछ।
कार्यविधिमा सरकारले विश्वासको मत लिने, सभामुख र उप–सभामुखको निर्वाचनका साथै नियमावलीसम्बन्धी समिति गठन गर्नेसम्मको व्यवस्था रहने गौतमले बताउनुभयो। प्रतिनिधिसभा र राष्ट्रियसभाको शुरूको बैठक एकैदिन र एउटै समयमा बस्ने गौतमले जानकारी दिनुभयो।

प्रशासन महाशाखाका सह–सचिव सुरजकुमार दुराले पहिले निर्वाचनको अन्तिम परिणाम आएको २१ दिनपछि मात्र पनि एकपटक बैठक बोलाइएको बताउनुभयो। ‘सचिवालयको तयारी लगभग सकिएको छ, संसद् बैठक भवन बनिसकेको छ’, दुराले भन्नुभयो– ‘नयाँ संसद् बैठकको पर्खाइमा छौं।’

संसद् बैठक बस्नुअघि संसद्मा रहेका जेष्ठ सदस्य छानिनुपर्ने र राष्ट्रपतिसँग शपथ लिएपछि उनैले सभामुखको चयन नुहन्जेलसम्म बैठकको अध्यक्षता गर्नेछन्। जेष्ठ सदस्यले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ। पहिलो संविधानसभामा नेपाली कांग्रेसका कुलबहादुर गुरुङले र दोस्रो संविधानसभामा राप्रपाका नेता सूर्यबहादुर थापा शुरूमा सभामुखको भूमिकामा रहेका थिए। दुवै संविधानसभामा एमाले नेता सुवासचन्द्र नेम्वाङ सभामुख बनेका थिए। संविधान बनेपछि नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती सभामुख भइन्। घर्ती सभामुख हुनुअघि नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले संसद् बैठक चलाएका थिए। संसद्को बैठक असोज २८ गते अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्