पौडेलले गरे मुख्यमन्त्रीको पदभार ग्रहण, १३ जिल्लामा नमुना शहर बनाउने घोषणा



रोशन पराजुली, हेटौंडा
३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशलाई हरेक काममा पहिलो प्रदेशका रूपमा अगाडि बढाउने बताउनुभएको छ। मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गर्दै उहाँले प्रदेशका सबै कार्यालयका प्रमुखलाई पहिलो सम्बोधन गर्दै ७ वटा प्रदेशमध्ये आफू पहिलो मुख्यमन्त्री भएसँगै प्रदेशलाई पहिलो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आफू हरेक क्षेत्रमा काम गर्दा पहिलो भएको उदाहरण दिँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘मैले काम गरेको हेटौंडा उप–महानगरपालिका, स्मारक विकास समितिमा जसरी उदाहरणीय काम गरेको छु, त्यसै गरी प्रदेशलाई पनि उत्कृष्ट प्रदेशका रूपमा अगाडि बढाउनेछु। हरेक मान्छेलाई आर्थिक उत्पादनसँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।

प्रदेशका १३ वटै जिल्लामा १३ वटा नमुना शहर निर्माण गरिने उहाँले बताउनुभयो। मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘१३ वटा नमुना शहर निर्माण गर्न म तयार छु। शहर जोडिएसँगै १३ वटै जिल्ला जोड्ने सडक निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो।

आफ्नो काम गर्ने स्पिड अत्यन्त दु्रत गतिको रहेकाले यो स्पिडलाई कायम गर्न सबै कर्मचारीले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो। आफूले काम गर्दा सबैको विश्वास जितेर काम गर्ने उहाँको भनाइ छ।

पदभार ग्रहणपछिको कार्यक्रममा प्रदेशका प्रमुख सचिव रेश्मीराज पाण्डेले मन्त्रिपरिषद्ले गरेका हरेक निर्णयलाई दु्रत गतिमा काम गरेर कार्यान्वयनमा लैजानका लागि कर्मचारी तयार रहेको बताउनुभयो। मुख्यमन्त्री र मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनमा लैजान आफूहरू सदैव तयार रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्