ओली–प्रचण्ड छलफल, सरकार गठनपछि पार्टी एकता



काठमाडौं, (नेस)
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनपछि मात्र पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने भएको छ। पार्टी एकताभन्दा पनि सरकार गठनकै गृहकार्यमा बढी लाग्नुपर्ने भएकाले सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने भएको हो।

एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार गठन गरेर मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने तयारीमा रहनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनअघि नै पार्टी एकताको खाका सार्वजनिक गर्नुपर्ने अडानमा रहनुभएको छ। ओली र प्रचण्डबीच दर्जनौंपटक छलफल भए पनि अध्यक्ष पदमा कुरा मिल्न सकेको छैन।

दुई नेताबीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा पार्टी एकताका लागि गठन गरिएको एकता संयोजन समितिको बैठकले गति लिन सकेको छैन। सोमबार ओली र प्रचण्डबीच ‘वान टु वान’ संवाद भए पनि कुनै सहमति जुट्न सकेन। दुई दलबीच पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी राख्ने सहमति गरेपछि एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको बाँडफाँडमा भने कुरा मिल्न सकेको छैन। प्रचण्डको सचिवालयका अनुसार शुरूदेखि नै पार्टीको नेतृत्वले एउटाले र अर्कोले सरकारको नेतृत्व गर्ने गरी शक्ति बाँडफाँड गर्नुपर्ने प्रस्तावमा अडान राख्दै आएका छन्।

एमाले अध्यक्ष ओलीले भने पार्टीको अध्यक्ष प्रचण्डलाई दिन नसक्ने अडान राख्दै दुई नेताबीचको वार्ता लम्बिँदै गएको छ। एमालेभित्र पनि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेता मध्यमार्गी बाटो भए पनि फागुनभित्र नै पार्टी एकता गर्नुपर्ने पक्षमा देखिएका छन्।

चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले आवश्यक परे फड्को मार्ने अभिव्यक्ति दिएसँग ओली झस्किएका थिए। गत असोज १७ वाम गठबन्धन बनाउँदा एमाले र माओवादीले चुनावलगत्तै एकता गर्ने बताएका थिए। तर ओली र प्रचण्डबीच नै पद बाँडफाँडमा कुरा नमिल्दा एकताले सार्थकता पाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्