पौडेलले आज मुख्यमन्त्रीको शपथ लिने



हेटौंडा, (नेस)
तीन नम्बर प्रदेशले मुख्यमन्त्री पाएको छ। सात वटा प्रदेशमध्ये संघीय राजधानीसमेत भएको यस प्रदेशले मुख्यमन्त्री पाएर सोमबार शपथ ग्रहण हुने भएको हो।

नेकपा एमाले प्रदेशको संसदीय दलका नेता डोरमणि पौडेलले शपथ ग्रहण गर्नुहुने भएको हो। मुख्यमन्त्रीका रूपमा प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ ग्रहण गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको कार्यालयका प्रमुखसचिव रेश्मीराज पाण्डेले बताउनुभयो।

सोमबार मुख्यमन्त्रीसहित बढीमा ३ जनाको मन्त्रिमण्डल बन्न सक्ने बताइएको छ। एमालेका संसदीय दलका नेता पौडेलले माओवादी केन्द्रसँगको सहकार्यमा मन्त्रिमण्डल गठन गर्न प्रदेश प्रमुख कोइरालालाई पत्र बुझाउनुभएको छ। एमाले संसदीय दलको नेतामा पौडेल चयन भएलगत्तै सरकार गठन प्रक्रिया शुरू भएको हो।

प्रदेश ३ मा एमालेको प्रष्ट बहुमत छ भने माओवादीले पौडेललाई समर्थन गरेको छ।एमालेले पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएसँगै स्पष्ट बहुमत भएको एमालेले सरकार गठन गर्न पाउने भएको हो।

माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले प्रदेश प्रमुखलाई पत्र पठाएर पौडेललाई समर्थन रहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्