भवन बनाउँदा घोटालाको आशंका



सुरेश तामाङ, ललितपुर
जिल्लाको बागमती गाउँपालिका–७ गिम्दीस्थित थुम्की प्राथमिक विद्यालयको भवन निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअको मिलेमतोमा कमसल सामग्री राखिएको स्थानीय जनताले आरोप लगाएका हुन्।
दुईवटा भवन निर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइ ललितपुरद्वारा २२ लाख र चर्चको छाता संगठन एनसीएफद्वारा ९ लाख रुपियाँ गरी ३१ लाख रुपियाँ उपलब्ध गराइएको थियो। ढलानको काम कम गुणस्तरीय गरिएको र ओपीसी सिमेन्ट रड प्रयोग नगरिएकाले विद्यालय व्यवस्थापन समितिको गत पुस ५ गते बसेको बैठकले ४५ दिनभित्र पुनर्निर्माण गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशनअनुसार पुनर्निर्माण नभएकोमा एक स्थानीयले भने– ‘आफैं बनाउने आफैं कमसल भयो भन्ने ? कसरी हुन्छ निर्देशनको पालना ?’

इकाइका एक प्राविधिकले उक्त भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेको स्वीकारे। ‘प्राविधिक जाँच गर्दा कमसल सामग्री प्रयोग भएको पाइयो’, उनले थपे– ‘पुनः बनाउन सुझाव दियौं तर हालसम्म बनाइएको छैन।’

एनसीएफद्वारा दुईकोठे भवनका लागि उपलब्ध गराइएको ९ लाख रुपियाँले बनिरहेको भवनमा डनबोस्को कलेजले दिएको जस्तापाता राखिएको छ।

९ लाख रुपियाँमा पुरै भवन बन्ने बताइए पनि मागेर जस्तापाता प्रयोग गरिएकाले आर्थिक अनियमितता भएको स्थानीयको आशंका छ।

स्थानीय जनताका अनुसार उक्त विद्यालयका प्रअ राजन बस्नेत, एनसीएफका पावेल बस्नेत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर बस्नेत दाजुभाइ हुन्। तीनै दाजुभाइ मिलेर कम गुणस्तरको सामग्री प्रयोग गरेको स्थानीय जनताको आरोप छ। तर तीनै भाइ बस्नेतले भने कम गुणस्तरको सामग्री प्रयोग नगरेको दाबी गरेका छन्।

‘केलाई गुणस्तरीय भन्ने केलाई नभन्ने ?’ प्रतिप्रश्न गर्दै प्रअ बस्नेतले भन्नुभयो– ‘संस्था आफैँले ल्याएको सामग्री प्रयोग भएको हो। गुणस्तरीय सामग्री नै त ल्याइएको होला
नि ?’ हालसम्म निर्माणमा २२ लाख रुपियाँ खर्च भइसकेको बताइन्छ।

 

प्रतिक्रिया दिनुहोस्