नागाबाबाको लिङ्ग प्रदर्शन रोक्न माग



प्रशान्त वली, काठमाडौं
शिवरात्रिमा नागाबाबाहरूले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ। कानुन व्यवसायी यज्ञमणि न्यौपानेले धर्मको नाममा नागाबाबाद्वारा गरिने अश्लील प्रदर्शन र उच्छृङ्खल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गर्नुभएको हो।

अधिवक्ता न्यौपानेले धर्मशास्त्रमा उल्लेख नै नभएको व्यवहार देखाएर नागाबाबाले समाजमा भ्रम र अन्धविश्वास फैलाइरहेको बताउनुभयो।उक्त कार्य संविधानविपरीत भएको बताउँदै लिङ्ग को प्रयोग गरी विभिन्न अश्लील खेलहरू खेल्ने, हेर्न बाध्य बनाउनेलगायतका कार्यबाट महिला तथा बालबालिकामाथि मनोवैज्ञानिक यौन हिंसा हुने उल्लेख गरिएको छ।

अविवाहित महिलाले नागाबाबाको लिङ्ग छोई ढोग गरेर पूजा गर्दा राम्रो पति पाइने, सन्तान नभएका महिलाले शरीर तथा लिङ्ग मा धसेको खरानीको टीका लगाउँदा सन्तान प्राप्ति हुने, रोग नलाग्ने, रोग निको हुने जस्ता रुढिवादी भ्रमबाट महिला, बालबालिका र सम्पूर्ण नागरिकमाथि अपमान भइरहको अधिवक्ता न्यौपानेको जिकिर छ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पशुपति क्षेत्र विकाश कोष सञ्चालन परिषद्, पशुपति क्षेत्र विकास कोष, महाशिवरात्रि व्यवस्थापन समितिलगायतलाई विपक्षी बनाइएको छ। रिटको सुनुवाइका लागि सोमबार १० बजे पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्