हिमपातको सूचना अनुमानको भरमा

14
Shares

टीका बन्धन, काठमाडौं ।

-भू–मध्य सागरबाट भित्रिएको पश्चिमी बायुका कारण यही माघ दोस्रो साता मुलुकका अधिकांश उच्च पहाडी र हिमाली भेगमा हिमपात भयो ।

-त्यस्तै प्रभावका कारण गत साता हुम्ला सदरमुकाम सिमीकोट र आसपासका जिल्लामा फेरि हिमपात दोहोरियो ।

जल तथा मौसम विज्ञान विभागले आम सर्वसाधारणसहित अन्य सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएको छ तर उच्च पहाडी र हिमाली भेगको मौसमी सूचना लगभग अनुमानको भरमा हुँदै आएको छ।

हिमपात के–कति मात्रामा भइरहेको छ र यसको प्रभाव कस्तो रहन्छ भन्ने प्रश्नमा विभागका अधिकारीहरू प्रस्ट जवाफ दिँदैनन्। यस्तै जिज्ञासामा गतसाता एक मौसमविद्ले नेपाल समाचारपत्रसँग भने– ‘हिमपात भयो भन्ने खबर सुन्यौं, तर के–कति मात्रामा हिमपात भयो भन्ने सूचना हामी अद्यावधिक गर्न सक्दैनौं।’ ‘बरु हामी त पत्र–पत्रिका र अन्य सञ्चारमाध्यममा समाचार आएपछि यति फिटसम्म हिमपात भएछ, भन्ने खबर थाहा पाउँछौं।’ –ती अधिकारीले दोहोर्याए।

उच्च पहाडी र हिमाली भेगमा हिमपातको प्रभाव र मापन गर्ने ‘ग्लासियर एन्ड स्नो मोनिटरिङ स्टेसन’ को अभावमा हिमपातबारेको यकिन सूचना सम्प्रेषण गर्न कठिनाइ भएको विभागका अधिकारी स्वीकार्छन्। हिमाल आरोहणमा जाने आरोही र उच्च क्षेत्रको पदमार्गमा जाने र उच्च भेगमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि यस्तो स्टेसनको सूचना प्रभावकारी मानिन्छ। तर, विभागसँग यस्ता स्टेसन पर्याप्त छैनन्, भएका केही स्टेसन पनि सञ्चालनमा छैनन्।

विभागले हिमपात हुन सक्छ भन्ने पूर्वसूचना सम्प्रेषण गर्ने भए पनि हिमपातको अद्यावधिक सूचना सम्प्रेषणका लागि प्रविधि र जनशक्ति नरहेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताउनुभयो। ‘कहाँ–कहाँ हिमपात हुन सक्छ भनेर विभागले पूर्वसूचना दिन सक्छ, तर कति मात्रामा पर्छ भनेर प्रस्ट जवाफ हामी दिन सक्दैनौं, त्यस्तो पर्याप्त साधन स्रोत हामीसँग छैन’ –उहाँले भन्नुभयो।

शर्माका अनुसार दोलखाको च्छो रोल्पा, सोलुखुम्बुको इम्जा ताल, सगरमाथा र अन्नपूर्ण आधार शिविर, हुम्ला, मनाङलगायतका उच्च भेगमा हिमपात अनुगमन स्टेसन भए पनि ती स्टेसन स्वचालित भने होइनन्। मौममी प्रतिकूलता र भौगोलिक विकटताका कारण उच्च पहाडी र हिमाली भेगमा जनशक्ति खटाउन व्यावहारिक नभएकाले त्यस्तो सूचना अद्यावधिक गर्न समस्या भएको उहाँले प्रस्ट्याउनुभयो।

उच्च भेगको मौसमी सूचना अद्यावधिक गर्ने पर्याप्त संयन्त्र नहुँदा प्रायः हरेक वर्ष स्वेदेशी⁄विदेशी पर्यटक र स्थानीयले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिँदै आएको छ। यस्तै संयन्त्रको अभावमा २०७१ असोज २८ गते अन्नपूर्ण पदमार्ग र आसपास क्षेत्रमा हुतहुत आँधीको प्रत्यक्ष प्रभाव परेको थियो। सो बेलाको हिमपातमा परेर एक साताभित्र ४५ जना स्वदेशी तथा विदेशीले अकालमा ज्यान गुमाएका थिए।

यसैबीच विश्व बैंकको करिब ९ करोड रुपियाँको आर्थिक सहयोगमा विभागले गतवर्ष मुलुकका विभिन्न ५ स्थानमा ‘ग्लासियर एन्ड स्नो मोनिटरिङ स्टेसन’ स्थापना कार्य अघि बढाएको थियो। ग्लोबल टेन्डरमार्फत ४ हजार मिटरभन्दा बढी उचाइका विभिन्न भेगलाई समेट्ने गरी स्टेसन स्थापनाको पहलअघि बढाइएको थियो। अपेक्षाअनुसारको आवेदन नपरेपछि सो कार्यले गति लिन नसकेको विभाग स्रोतले जनाएको छ।

पहिलो चरणमा परीक्षणका रूपमा ५ वटा स्वचालित स्टेसन स्थापना गर्ने योजना अघि सारिएको छ। समग्रमा मुलुकभरका उच्च भेगमा जम्मा २३ स्टेसन राख्ने गुरुयोजना तयार भएको विभागका महानिर्देशक शर्माले जानकारी दिनुभयो। ‘पूर्वदेखि पश्चिमका सबै हिमजलाधार क्षेत्र समेट्ने गरी २३ वटा स्टेसन राख्नुपर्ने अध्ययन रिपोर्टले देखाएको छ, त्यसलाई केही दिनभित्रमा अन्तिम टुङ्गोमा पुर्याउने छौं’ –उहाँले भन्नुभयो।