स्थानीय तहको मनपरी


 भन्छन्ः मनलाग्दीरूपमा विव्यस भंग नगर

ईश्वरराज ढकाल

सरकारले विद्यालय व्यवस्थापन भंग गर्ने विषयमा कुनै नीति नै नबनाएको अवस्थामा स्थानीय जनप्रतिनिधिले मनपरी गर्न थालेका छन्। सूर्यविनायक नगरपालिकाले आफ्नो मातहतमा रहेका सबै विद्यालयमा विद्यालय व्यवस्थापन समिति भंग गरेर नया बनाउने सोच गरेको छ। ललितपुर महानगरपालिकाको नगर कार्यपालिकाको बोर्डको बैठकले वडा अध्यक्ष वा वडा अध्यक्षले तोकेको प्रतिनिधि अध्यक्ष हुने व्यवस्थापन समिति गठन गर्ने व्यवस्था गरेको छ। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरिसेको छ।

अन्य स्थानीय निकायले आफैंले कार्यविधि बनाएर विद्यालय व्यवस्थापन समिति भंग गर्ने तरखरमा लागेका छन्। अहिले स्थानीय तहका जनप्रतिनिधिले मनपरीरूपमा शिक्षक सरुवा गर्न शुरु गरिसकेका छन्। स्थानीय तहको निर्वाचनपछि निर्वाचित प्रतिनिधिले पहिलो तारो विद्यालयका शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिलाई बनाउन थालेका छन्।


विभिन्न राजनीतिक दलप्रति प्रेरित स्थानीय निकायका जनप्रतिनिधिले मनपरी गर्न थालेकोमा शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आपत्ति जनाएका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरि लम्सालले शिक्षा विभाग र मन्त्रालयसँग समन्वय गरेर मात्रै शिक्षक सरुवा, विद्यालय व्यवस्थापन समिति निर्माणलगायतका विषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो। पछिल्लो समयमा शिक्षामा अराजक गतिविधि बढ्न थालेको बताउँदै उहाँले कार्यविधि निर्माण गरेर मात्रै विद्यालय र शिक्षकलाई चलाउन आग्रह गर्नुभयो। उहाँले कानुन नै नआइसकेको अवस्थामा हचुवाको भरमा विद्यालय व्यवस्थापन समिति भंग नगर्न आग्रह गर्नुभयो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले शिक्षाका जनशक्ति व्यवस्थापनमा समस्या रहेको स्वीकार्दै भन्नुभयो– ‘यसलाई व्यवस्थापन नगरेसम्म समस्या समाधान हँुदैन। स्थानीय जनप्रतिनिधिले शिक्षक व्यवस्थापन कार्यमा हस्तक्षेप गर्न थालेको बताउँदै सरकारको निर्देशन र सम्बन्धित निकायको निर्णयबेगर कुनै पनि काम नगर्न आग्रह गर्नुभयो। एउटा स्थानीय निकायले एकैपटक ५८ जना शिक्षकको मनपरी सरुवा गरेको रेकर्ड मन्त्रालयलाई आएको छ, कयौं स्थानीय निकायले जिल्लान्तररूपमा शिक्षक सरुवा गरिरहेका छन्, जताततै अराजक अवस्था बढेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तहले मनपरी गर्न नहुने बताउनुभयो। विद्यालय व्यवस्थापन समिति भंग गरेकोमा आपत्ति जनाउँदै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले स्थानीय सरकारका जनप्रतिनिधिले अधिकारभन्दा पनि अतिक्रमण गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो– ‘ठाउँ–ठाउँमा व्यवस्थापन समिति भंग गरिएक छन्, जारी योजनाको प्राप्त रकममा हस्तक्षेप गर्ने स्वार्थले यस्ता काम भइरहेको छ।’

विद्यालयमा भौतिक संरचना निर्माणमा आएको पैसामा आँखा लागेको देखिएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माण गर्न करिब ६ करोड रुपियाँ आएको छ, त्यही रकम चलाउन जनप्रतिनिधिले मनपरी गरिरहेका छन्।’ उहाँले चुनाव खर्च उठाउन विद्यालय व्यवस्थापन समिति भंग गर्दै हिँडेको आरोपसमेत लगाउनुभयो।

शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले स्थानीय सरकारले शिक्षा सुधारका नाममा शिक्षकलाई मनपरीरूपमा सरुवा गरेको आरोप लगाउनुभयो। ‘विद्यालय शिक्षामा सुधार गर्न बिर्सेका उनीहरूले मनपरीरूपमा शिक्षक सरुवा गर्दै हिँडेका छन्। शिक्षकले तलब पाएका छैनन्, शिक्षकको दरबन्दी मिलान गरिएको छैन, तर स्थानीय सरकार शिक्षक सरुवा र विद्यालय व्यवस्थापन समिति भंग गर्न हतार गरिरहेका छन्’ –उहाँको आरोप थियो। एजुकेसन पेजेजले आयोजना गरेको कार्यक्रममा विभिन्न सरोकारलाला संघ–संस्थाका प्रतिनिधिले स्थानीय तहको जनप्रतिनिधिको पछिल्लो कार्यप्रति आक्रोश व्यक्त गरेका थिए।