बोको हरामद्वारा १३ व्यक्ति मुक्त


माइदुगुरी, (एजेन्सी)
कट्टरपन्थी इस्लामिक लडाकू समूह बोको हरामले गत वर्ष उत्तर पूर्वी नाइजेरियामा अपहरण गरिएकामध्ये १३ जना व्यक्तिलाई शनिबार मुक्त गरेको सरकारी सूत्रले जनाएको छ। रिहा हुनेमा प्रहरीको गाडीमाथि आक्रमण गर्ने क्रममा अपहरित १० जना महिला र तेल अन्वेषण भ्रमणको क्रममा माइदुगुरीबाट नियन्त्रणमा लिइएका ३ जना लेक्चरर रहेको बताइएको छ।

नाइजेरियाका राष्ट्रपति मुहमदु बुहारीको कार्यालयले रेडक्रसको पहलमा तिनीहरू रिहा भएको बताएका छन्। नाइजेरियामा बोको हराम र सरकारी सुरक्षा फौजबीच भएको ८ वर्ष लामो युद्धमा अहिलेसम्म करिब २० हजार व्यक्तिको ज्यान गइसकेको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआसी ) ले जारी गरेको एक विज्ञप्तिमा आफू द्विपक्षिय वार्तामा संलग्न नभएको बरु तटस्थ मध्यस्थकर्ताको भूमिका निभाएको उल्लेख गरेको छ।

आईसीआरसीका सवारी साधनहरू शनिबार करिब मध्यान्ह क्यामरुनको सिमानास्थित एक शरणार्थी शिविरमा आइपुगेको एएफपी समाचार निकायले जनाएको छ। तिनीहरू एउटा झयाँगसम्म पुगेर ती १३ जना बन्धक लिएर फर्केका थिए। त्यसपछि तिनीहरूलाई हेलिकोप्टरबाट माइदुगुरी ल्याइएको थियो। बोको हरामसंग तिनीहरूको रिहाइका लागि भएको वार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

सन् २०१६ को अक्टोबर र २०१७ मेमा २०१४ मा चिवोक शहरबाट अपहरित गरिएका करिब २ सय बालिकालाई पनि आईसीआरसीको मध्यस्थतामा मुक्त भएको थियो। शनिबार नै राष्ट्रपति बुहारीले नाइजेरियाली सेनालाई अझैसम्म हराइरहेका १ सय जनाभन्दा बढी चिवोक छात्राहरूलाई घर फर्काउन ठोस कदम चाल्न आग्रह गरेका थिए।
मस्कोनजिकै यात्रुवाहक