भारतको २६ वर्षपछि जित


डरबन, (एजेन्सी)
भारतले डरबनमा एकदिवसीय क्रिकेट (वानडे) खेलमा दक्षिण अफ्रिकासँग बेहोरेको हारको क्रम बिहीबार तोडेको छ।

डरबनमा भएको पहिलो वानडेमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको हो। भारतले २६ वर्षपछि डरबनमा सो प्रतिद्वन्द्वीविरुद्ध पहिलो जित हात पार्यो। यसअघि ७ खेलमा भारत हारेको थियो। यो इतिहास रच्न कप्तान विराट कोहलीले सानदार शतक प्रहार गरेका थिए। उनले १ सय १९ बलको सामना गरी १० चौकासहित १ सय १२ रनको योगदान दिए। कोहलीको यो ३३ औं वानडे शतक पनि हो।

यसका साथै भारतले दक्षिण अफ्रिकाले घरेलु भूमिमा लगातार १७ खेलमा जितेको क्रम पनि भंग गरेको थियो। पछिल्लो पटक २०१६ फेबु्रअरीमा इंग्ल्यान्डलाई ६ विकेटले हराएको दक्षिण अफ्रिकाले १८औं खेलमा जित हासिल गर्न सकेन। टोलीले २ सय ७० रनको लक्ष्य दिए पनि भारतले ४ विकेट गुमाएर ४५ दशमलव ३ ओभरमा हासिल गरेको थियो। दक्षिण अफ्रिकाका तर्फबाट फाफ डु प्लेसिसले १ सय २० रनको शतकीय इनिङ खेलेका थिए। दोस्रो वानडे सेन्चुरियनमा ४ फेबु्रवरीमा हुनेछ।