संसदीय दलमा देउवाकै वर्चस्व

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं

वाम गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेका बेला सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगभग निश्चित गरिसकेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले नै आकांक्षा देखाउनुभएको छ। संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका महत्वपूर्ण हुनेगर्छ।

सिटौला पक्षको सहयोग देउवालाई
 पौडेल पक्षका सांसद छलफलमा

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसको ६३ जना सांसद रहनेछन्। निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० सिट पाएको हो। कांग्रेस संसदीय दलको नेता बन्न आफ्नो कुल सांसदको ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ। गुट–उपगुटमा विभाजित कांग्रेसभित्र प्रतिनिधिसभामा निर्वाचित सांसदमध्ये सभापति देउवा पक्षका धेरै छन्। पार्टीभित्र देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुट सशक्त छन्। साथै प्रभावशाली नेताहरूको छुट्टै उपगुट पनि छ।

संसदीय दलको नेताका लागि पौडेल पक्षबाट प्रकाशमान सिंहले आकांक्षा देखाए पनि धेरै कम मत भएकोले सभापति देउवाले नचाहेसम्म उहाँले दलको नेतामा चुनाव जित्ने सम्भावना छैन।

हालै सम्पन्न निर्वाचनको परिणामलाई लिएर नेतृत्व परिवर्तनको कुरा उठाइरहेका छुट्टै गुटका केही सांसदहरूको मत जोड्दा पनि पौडेल पक्षलाई नपुग्ने देखिन्छ। ‘पौडेल पक्षका नेता सिंहले संसदीय दलका लागि आकांक्षा देखाए पनि मत निकै कम छ’, सिंह निकटका एक सांसदले भने– ‘संसदीय नेतामा सभापतिको विकल्पमा छलफल भइरहेको छ, हामी निष्कर्षमा पुगिसकेका छैनौं।’

प्रतिनिधिसभा सदस्यको जोडघटाउअनुसार अहिले निर्वाचितमध्ये पौडेल पक्षका करिब २० जना हुने र सिटौला पक्षको ५ जनासम्म हुने अनुमान गरिएको छ। बाँकी सांसद सबै देउवा पक्षको रहेको बताइएको छ। संसदीय दलको निर्वाचनमा सिटौला पक्षका सांसदले सभापति देउवा नै संसदीय दलको नेता हुनुपर्ने बताइरहेका छन्। सिटौला पक्षका नेता भीमसेनदास प्रधानले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘संसदीय दलको नेता सभापति देउवा नै हुनुपर्छ।’

संसदीय दलको नेतामा लिडरसिप पनि हुनुपर्ने रक्षा मन्त्रीसमेत रहनुभएका प्रधानको भनाइ छ। पौडेलको पक्षमा १४÷१५ जनाभन्दा बढी सांसद हुनुहुन्न, सिटौलाको सभापति देउवासँग धेरै चित्तदुखाइ रहेकाले उहाँ तटस्थ बस्ने बताउनुभएको भन्दै उहाँले आफ्नो विवेक प्रयोग गर्ने बताएको उहाँ निकट एक सासंदले बताए। सिटौलाले उपनेता, प्रमुख सचेतक तथा कार्यसमितिमा केही सदस्य माग गरेर देउवालाई नै समर्थन गर्ने ती सांसदको भनाइ थियो।

कांग्रेसभित्र प्रभावशाली मानिएका महामन्त्री डा. शसांक कोइरालाले भने संसदीय दलको नेताको बारेमा मुख खोल्नुभएको छैन। संवैधानिक परिषदको हरेक निर्णयमा प्रमुख प्रतिपक्षदलको नेताको भुमिका अपरिहार्य जस्तै हुन्छ। आकर्षण सेवा सुविधा समेत पाईने संसदीय दलको नेताले दलको कार्यसञ्चालन र रेखदेख र निर्देशन गर्ने र सदनमा मतदानको सन्दर्भमा दलको नीति, कार्यसमितिको निर्णय तथा आवश्यक्ता अनुसार मतदानका लागि प्रमुख सचेतक मार्फत निर्देशन दिने कार्य गर्नुपर्ने हुन्छ। कांग्रेस विधान अनुसार प्रधानमन्त्री हुनकालागि पनि संसदीय दलको नेता हुनुपर्छ।

संसदीय दलको नेताले नै दलको उपनेता, प्रमुख सचेतक र सचेतक पनि मनोनित गर्नेछन्। कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेताको लागि एक भन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्धारा निर्वाचन हुने छ।
निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न पार्टीको केन्द्रिय समितिले एक निर्वाचन समिति समेत बनाउने छ। नेता निर्वाचित हुन सम्पुर्ण सदस्यको ५० प्रतिशत भन्दा बढी मत आवश्यक हुन्छ। ५० प्रतिशत भन्दा बढी मत कसैले नल्याए धेरै मत ल्याउने दुई जनावीच पुन प्रतिस्पर्धा हुने छ र सबैभन्दा बढी मत ल्याउने उम्मेद्वार संसदीय दलको नेतामा विजयी हुनेछन्।

संसदीय दलको मुख्य काम कर्तव्य र अधिकारमा पार्टीको सिद्धान्त, नीति, निर्देशन तथा घोषणापत्र अनुरूप सदनको कार्यमा प्रभावकारी भुमिका निर्वाह गर्ने, राष्ट्र र जनताको हितमा कानुन निर्माण गर्ने काममा निरन्तर अग्रसरता लिने तथा देश र जनताको समस्यालाई सदनमा जोडदार रूपमा उठाउने पनि रहेको छ।

सदनमा विचारार्थ प्रस्तुत विषयहरूमा पार्टीको नीति अनुरूप दृष्टिकोण निर्धारण गरि त्यसप्रति अन्य दल तथा अन्य सदस्यहरूको सहमति र समर्थन जुटाउने कार्य पनि संसदीय दलको कार्य भित्र पर्दछ। विपक्षी दलको रूपमा रहेको बेला संसदीय दलले सदनमा प्रस्तुत वा पारित कानुन तथा स्वीकृत नीति, कार्यक्रम अनुरूप सरकारी प्रशासन तथा विकास निर्माण कार्यहरू भए नभएको अध्ययन गरी सदनको जानकारीमा ल्याउने काम गर्नुपर्छ।