नक्कली चिनियाँ डाक्टरको बिगबिगी, पक्राउ परेका डाक्टरलाई थुनामा राख्ने अनुमति



काठमाडौं, (नेस)
काठमाडौं जिल्ला अदालतले अवैधरूपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई थुनामा राखी कारबाही अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ।

नेपालमा बसेर अवैधरूपमा काम गर्दै आएका १३ चिनियाँ नागरिक, १ अस्ट्रेलियन र ३ नेपाली गरी १७ जनालाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई कानुनी बाटो खोलिदिएको छ।

न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको हो। नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैधरूपमा काम गरिरहेका चीन, अस्ट्रेलिया र नेपालका नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत सोमबार पक्राउ गरेको थियो।

राजधानीको ठमेलस्थित एपोलो इन्टरनेसनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल, ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटललगायतका अस्पतालमा काम गरिरहेका उनीहरू पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलियन नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई सुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्विन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्। सीआईवी र मेडिकल काउन्सिलले संयुक्त रूपमा छापा हानी उनीहरूलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूमध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन्। विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलको नियमअनुसार अनुमति लिनुपर्ने हुन्छ। अनुमति नै नलिई बिरामीको परीक्षण गरेको पाइएकाले उनीहरूलाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिएको हो।

प्रतिक्रिया दिनुहोस्