“शहीद घोषणा गर्न दबाब दिनु अनुचित”

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कसैलाई शहीद घोषणा गर्न राजनीतिक कार्यकर्ताले दबाब सृजना गर्नु अनुचित भएको बताउनुभएको छ। शहीद दशरथ चन्द र धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको काठमाडौंको शोभा भगवती मन्दिरनजिक विष्णुमती नदी किनारामा सम्पन्न श्रद्धाञ्जली सभामा बोल्दै मेयर शाक्यले यस्तो धारणा राख्नुभएको हो।

श्रद्धाञ्जली सभामा बोल्दै समितिकी उप–संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विकासमा नेतृत्व गरेर शहीदको सपना पूरा गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो– ‘शहीदले नागरिक जीवनको समुन्नतिको सपना देख्नुभएको थियो। त्यो सपना पूरा गर्न अब सामाजिक, आर्थिक विकास गर्नुपर्यो। काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ।’

सभामा महानगरको वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगालले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने खाँचो रहेको बताउनुभयो। विकृत सोचले समस्या सृजना भएका छन्। अब सामूहिक हितका लागि सोच राख्नुपर्छ। यसबाट प्राप्त परिणामले शहीदको सपनामा योगदान उहाँले भन्नुभयो। शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, महानगरका अधिकारीहरूसँगै स्थानीयबासी सहभागी हुनुभएको थियो।

राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो। उहाँहरूलाई ज्यानदण्ड दिइएको स्थानमा शहीद स्मारक स्तम्भ र शालिक राखिएका छन्।

शहीद स्तम्भ तत्कालीन काठमाडौं नगरपञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरी २०३७ साल माघ १७ गते अनावरण गरिएको थियो। चिंकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी शालिक स्थापना गराउनुभएको थियो।