प्रदेश–२ का सबै उम्मेदवार निर्विरोध, निर्विरोधको संख्या बीस

0
Shares

सुनील महर्जन, काठमाडौं

राष्ट्रिय सभाका निर्वाचनका लागि प्रदेश नं २ बाट उम्मेदवारी दिने सबै निर्विरोध निर्वाचित भएका छन्। संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै प्रदेश नं २ का अन्य समूहका तीन जना उम्मेदवार निर्विरोध भएका हुन्।

माघ १० गते खुला समूहबाट तीन जनाका लागि चार जनाको उम्मेदवारी परेको थियो। हुसेनले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसका जितेन्द्रनारायण देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित हुनुभएको हो। प्रदेश नम्बर २ बाट तीन जना निर्विरोध निर्वाचित भएसँगै निर्विरोध हुनेको सख्ंया २० पुगेको छ। ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको थियो।

महिला क्लस्टरमा माओवादी केन्द्रकी शशिकला दाहाल, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव तथा संघीय समाजवादी फोरमकी प्रमिला कुमारी उम्मेदवारी दर्ता गरेको दिनमै निर्विरोध हुनुभएको थियो। त्यसै गरी अल्पसंख्यक र अपांग क्लस्टरमा राजपाका वृषेशचन्द्र लाल तथा दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रित पासवान पनि निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्विरोध भएकाहरू निर्वाचित भएको औपचारिक घोषणा भने आयोगले गरिसकेको छैन।

यसैबीच आयोगले उम्मेदवारहरूको नामावली आइतबार प्रकाशन गरेको छ। आयोगले गत बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो। उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानविन गरेर नामावली प्रकाशन गरेको हो। आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानविन गरेर नतिजा सार्वजनिक गरेको थियो।

आयोगमा विभिन्न उजुरी परेका भए पनि १ जनाको मात्रै उम्मेदवारी खारेज भएको छ। वाम गठबन्धनको तर्फबाट प्रदेश ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ। थापाले अपांग परिचयपत्र नलिएको भन्दै उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी दिनुभएको थियो। छानविनबाट आरोप प्रमाणित भएपछि आयोगले खारेजीको निर्णय गरेको हो। राष्ट्रिय सभा निर्वाचनसम्बन्धी निर्देशिकामा अपांगता भएका व्यक्तिले सरकारको अधिकार प्राप्त निकायले दिएको अपांगताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने प्रावधान रहेको छ।

आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्मको समय तोकेको छ। सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। अन्तिम नामावली प्रकाशनपछि सोमबार अपराह्न ४ बजे उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने आयोगका प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। मनोनयनमा ९ राजनीतिक दलबाट समूहगतरूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ उम्मेदवारको मनोनयन दर्ता परेको थियो।

सो निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ तथा ५ सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। प्रदेश नं १ मा ३ सय ६७, प्रदेश नं २ मा ३ सय७९, प्रदेश नं ३ मा ३ सय४८, प्रदेश नं ४ मा २ सय३०, प्रदेश नं ५ मा ३ सय ५, प्रदेश नं ६ मा १ सय ९८ र प्रदेश नं ७ मा २ सय २९ मतदाता रहेको आयोगले जनाएको छ।

सो निर्वाचन भई राष्ट्रिय सभा सदस्य र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै संघीय संसद्ले पूर्णता पाउने छ।