आईपीएलमा सन्दीप

0
Shares

कविरस शर्मा, काठमाडौं
नेपाली क्रिकेटका युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्।

सन्दीप आईपीएल टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएसँगै आईपीएल खेल्ने पक्का भएको हो। दुई दिन चलेको अक्सनको दोस्रो दिन आइतबार दिल्ली डेयरडेभिल्सले भारतीय रुपियाँ २० लाखमा बोल कबोल गरेर सन्दीपलाई अनुबन्ध गरेको हो। सन्दीपलाई २० लाख भारुको अक्सनमा राखिएको थियो। योसँगै नेपाली क्रिकेट इतिहासमा सन्दीप आईपीएलमा अनुबन्धित हुने पहिलो नेपाली क्रिकेट खेलाडीसमेत बनेका छन्।

आईपीएल अक्सन सूचीमा परेपछि सन्दीपको चर्चा चुलिएको थियो। अक्सनको पहिलो दिन स्पिनरमाथि लागेको ठूलो रकमको बोलीले पनि उनको सम्भावना बढेको थियो।

भारतीय सञ्चारमाध्यमले पनि सन्दीपको नाम अक्सनमा आउने प्रवल सम्भावना रहेको बताउँदै आएको थियो। हाल सन्दीप डिभिजन–२ को तयारीका लागि नेपाली टोलीसँग यूएईमा छन्।नेपाली युवा क्रिकेटर सन्दीप अहिले नेपाली मिडियामा मात्र होइन, भारतीय मिडियामा पनि छाएका छन्। थुप्रै भारतीय सञ्चारमाध्यमले सन्दीपको प्रशंसा गर्न थालेका छन्। भारतका मुख्य अखबारका अनलाइन संस्करणमा सन्दीपको क्रिकेट करिअरसँग सम्बन्धित कीर्तिमानसहित उनले विगतमा कमाएको चर्चा र सफलताका शृंखलाको बयान गरिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याती कमाइसकेका कैयौं क्रिकेटरसँगै नेपाली क्रिकेटमा भविष्य खोज्दै गरेका सन्दीपको समाचारले प्राथमिकता पाउनु नेपाली क्रिकेटप्रेमीका लागि समेत गर्वको विषय बनेको छ।त्यस्तै नवभारत टाइम्सको अनलाइन संस्करणले सन्दीपको बलिङ उत्कृष्ट भएको उल्लेख गरेको छ। नवभारत टाइम्स लेख्छ– ‘लेग स्पिन गराउन उनको अर्थोडक्स एक्सन छ, उनी जसरी बल रिलिज गर्दछन्, ब्याट्सम्यानले त्यसलाई बुझ्न सक्दैन।’ आयरल्याण्डविरुद्ध उनले लिएको पाँच विकेटमा तीन ब्याट्सम्यानलाई आफ्नो बलिङमार्फत् उनले हावामै झुक्याएर बोल्ड आउट गरेका थिए।’आयरल्यान्डका विरुद्ध ह्याट्रिक गर्दै उनी यु–१९ विश्वकपमा ह्याट्रिक गर्ने पाँचौं खेलाडी बन्न सफल भएको पनि बीबीसीले जनाएको छ। बीबीसीको हिन्दी संस्करणले ‘को हो आइपीएलको पहिलो नेपाली क्रिकेटर’ शीर्षकमा समाचार लेख्दै सन्दीपका बारेमा विस्तृत जानकारी दिएको छ।

सन् २०१६ मा भएको यु–१९ विश्वकप क्रिकेटमा सन्दीपले आफ्नो लेग स्पिनको कमालसँगै नेपाललाई आठौं स्थानमा पुर्याएको बीबीसीले उल्लेख गरेको छ। ‘सो प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने दोस्रो खेलाडी थिए। १७ को औसत र ४ दशमलव ६७ को इकोनोमीमा उनले ६ पारीमा १४ विकेट लिएका थिए। सन्दीपको प्रदर्शनबाट अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क समेत प्रभावित भएका थिए। क्लार्कले सन्दीपलाई हङकङ टी–२० ब्लीट्जको कोनुन कान्टुसमा सन्दीपलाई आफूसँग खेल्न बोलाएको बीबीसीले उल्लेख गरेको छ। पछि क्लार्कले यी लेग स्पिनरलाई अस्ट्रेलियामा एनएसडब्ल्यु प्रिमियर क्रिकेट सिजनको आफ्नो टिम वेस्टर्न सबअब्र्सबाट खेल्न आमन्त्रितसमेत गरेको अन्तर्राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ।यसै गरी दैनिक जागरण पत्रिका र आजतक टेलिभिजनको अनलाइन संस्करणले पनि सन्दीपको अनुबन्धलाई प्राथमिकताका साथ प्रसारण गरेका छन्। उनी अनुबन्धित भएको दिल्ली डेयरडेभिल्समा अस्ट्रेलियन स्टार गेलेन म्याक्सवेलदेखि भारतका गौतम गम्भीरसम्मका खेलाडी समेटिएका छन्।