‘मापदण्डमा शंका नगर्नुस्’

0
Shares

काठमाडौं, (नेस)
महर्जन बिजनेस एसोसियट प्रालिले आफूहरूले काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागको मापदण्डअनुसार भवन बनाएको दाबी गरेको छ।

प्रालिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्प्लेक्सका सञ्चालक कृष्ण महर्जनले पुरानो क्रिस्टल होटलको जग्गा किनेर २०७३ सालमा नक्सापास भएपछि भवन बनाएको जानकारी दिनुभयो।

युनेस्कोले उक्त निर्माणाधीन भवनबाट विश्व सम्पदा सूचीमा सूचिकृत हुनुमानढोका दरबार क्षेत्रलाई असर नपारेको उल्लेख गरेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा दर्जनौं भवन बनिरहेको अवस्थामा अर्काको उक्साहटमा लागेर हाम्रो भवनको विरोध गर्नुको कुनै औचित्य छैन।’

गणपतिलाल श्रेष्ठले स्थानीयको नाममा हस्ताक्षर गराई भवनबारे मनपरी प्रचार गरेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा महर्जनले थप्नुभयो– ‘अन्य भवनको विषयमा केही नबोल्ने ती व्यक्तिले केही मिडियाको प्रयोग गरी झुटो प्रचार गरेका छन्, ८ तले भवन भत्काएर ४ तला मात्र बनाउँदा हाम्रो के गल्ती भयो?’ उक्त घर बनाएर करिब ६० वटा पसल राखी १ हजार जनालाई रोजगारी दिने उहाँले बताउनुभयो।

आफूहरूले गल्ती गरेको भए कारबाही गर्न चुनौती दिँदै महर्जनले दाबी गर्नुभयो– ‘हामीले गल्ती गरेको भए यथार्थ समाचार लेख्नुस् पत्रकार मित्रहरू। हामीले मिडियाबाजी नगरेकाले हाम्राविरुद्ध निरन्तर अनर्गल प्रचार गरियो।’

नक्सा पास गरेरै भवन निर्माण गर्दा पनि जग्गा किन्दादेखि नै डाह गरेको समूहले आफ्नो मानमर्दन गरेको उहाँको भनाइ थियो। सञ्चालक महर्जनले ऐन, कानुन, कार्यविधि, निर्देशिकालगायत सम्पूर्ण कानुनको अध्ययन गरेरै सो भवन बनाएको दाबी गर्नुभयो।

भवन बनाउँदा केही संरचना बिग्रिएपछि कम्पनीले १५ लाख रुपियाँ लागतमा उक्त सम्पदा निर्माण गरेको थियो। स्थानीय निकायद्वारा जारी निर्माणसम्बन्धी मापदण्डमा अरूको घर तथा वरिपरि स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी वेसमेन्ट, सेमिवेसमेन्ट बनाउन स्वीकृति दिन सकिने उल्लेख छ। संरक्षित स्मारक उपक्षेत्रमा संरक्षित स्मारक क्षेत्रमा नयाँ घर वा भवन निर्माण गर्ने अथवा मर्मत सुधार गर्न चाहने व्यक्ति वा संस्थाले सम्बन्धित निकायबाट कुनै घर वा भवनको शैली र आकार प्रकारको नक्सा स्वीकृत गराएर मात्र बनाउन भवन पाइने उल्लेख भएबमोजिम भवन निर्माण शुरू गरेको उक्त प्रालिको दाबी छ।

यसअघि ८ तला निर्माण भएको क्रिस्टल भवनको तुलनामा करिब ४ तला होचो बनाइएको सो प्रालिको भवन नियोक्लासिकल हुने बताइएको छ। क्रिस्टल भवनले २०२४ साल कात्तिकमा ५३ दशमलव ३ फिट अग्लो भवन निर्माण गर्न स्वीकृति लिएको र उक्त भवन अहिले करिब ४१ फिट मात्र हुने जनाइएको छ। महर्जनका अनुसार संरक्षण एवं मापदण्ड–२०६४ को दफा ४ को ४ दशमलव २ नम्बर बँुदामा परम्परागत शैलीमा निर्मित पुराना घरहरूको उचाइ ३५ फिटभन्दा बढी रहेमा त्यस्ता घरको पुनर्निर्माण गर्दा साबिककै उचाइ कायम राखी पुनर्निर्माण गर्न अनुमति दिइने उल्लेख छ।

प्रालिले २०७२ सालको शक्तिशाली भूकम्पबाट भएको मानवीय क्षतिलाई दृष्टिगत गरी भूकम्प प्रतिरोधात्मक र ‘सेफ्टी फस्र्ट‘ अवधारणाअनुसार भवन निर्माण गरिएको जनाएको छ। युनेस्कोले विज्ञप्ति जारी गरेपछि समूहले युनेस्को प्रमुखको पुत्ला दहन गरेका थिए। हाल सो भवनको विरोधमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको जनाइएको छ।