बिग्रेका गाडी अधिक मूल्यमा बेच्दै रेनल्ट डिलर

0
Shares

रेनल्ट कम्पनीको सर्वाधिक बिक्री हुने कार किविडमा खराबी देखिएको भन्दै कम्पनीले बिक्री भएका कारलाई फिर्ता मागेको छ । यही अवस्थामा नेपालमा भने सोही कारलाई अधिक नाफा राखी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

दुईवटा इन्जिन भएको सो कारको स्टेरिङ प्रणालीमा खराबी देखिएको भन्दै उत्पादक कम्पनीले भारतमा ग्राहकलाई पत्राचार गर्दै नजिकको डिलरमा सम्पर्क गर्न अनुरोध गरिरहेको छ । उसले बिक्री भइसकेका कारको निःशुल्क मर्मत गरिदिने भनेको छ ।

रेनल्टको नेपालको आधिकारिक विक्रेता एड्भान्स्ड अटोमोबाइलले बजार मूल्यभन्दा अधिक नाफा राखेर सवारीसाधन बिक्री गर्दै आएको भन्दै आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेको छ ।

बजार मूल्यभन्दा अधिक नाफा राखेर सवारीसाधन बिक्री गर्दै आएको सूचनाका आधारमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालको निर्देशनमा शुक्रबार काठमाडौंको थापाथलीस्थित ‘एड्भान्स्ड आटोमोबाइल्स’ प्रालिमा छापा मारेको हो ।

अनुगमनका क्रममा आवश्यक कागजात तथा बिलविजक नखुलेपछि विभागले कम्पनीका कागजात जफत गरी तीन दिनभित्र विभागमा स्पष्टीकरणका लागि उपस्थित हुन निर्देशन दिएको छ । कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन २०३२ मा सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने उल्लेख भए पनि विक्रेताले सोभन्दा बढी मूल्य तोकेर बिक्री गर्दै आएका पाइएको थियो ।छापा मार्न पुगेका विभागका कर्मचारीलाई कम्पनीका कर्मचारीले असहयोग गरेका थिए । टोलीलाई कम्पनीले सवारीसाधन आयात गर्दा लागेको वास्तविक लागत–खर्चको स्पष्ट विवरणसमेत देखाएनन् ।

अनुगमनका क्रममा कम्पनीले भारतबाट ३ लाख १९ हजार ८९७ भारतीय रुपैयाँमा खरिद गरेको किविड आरएक्सटी जिरो एएमटी गाडी २३ लाख ५४ हजार २९० रुपैयाँमा बेचेको पाइएको छ । त्यस्तै, डस्टर आरएक्सई पेट्रोल गाडी ५ लाख १ हजार ४७ भारतीय रुपैयाँमा खरिद गरी ३५ लाख ५८ हजार ७ सयमा विक्रीवितरण गर्दै आएको फेला परेको विभागले जनाएको छ ।

एड्भान्स्डले कालोबजारी गरेको पुष्टि भए कालोबजारी ऐनअन्तर्गत कारबारहीका लागि सिफारिस गरिने विभागले जनाएको छ । विभागले एक साताको अवधिमा ११ वटा अटोमोबाइल विक्रेता कम्पनीमा अनुगमन गरी अनुसन्धान सुरु गरेको छ । केही कम्पनीलाई कारबाहीका लागि टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा पठाएको छ ।

नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने कालोबजारी ऐनमा उल्लेख छ ।  भारतमा रेनाल्टको क्यूडी कारमा खराबी देखिएपछि फिर्ता मागिएको यो दोस्रोपटक हो । यसअघि ५० हजारभन्दा बढी किविड कारमा खराबी देखिएपछि फिर्ता मागिएको थियो ।