मान्छे किन मान्छे हुन सक्दैन ?

188
Shares

दीपक खनाल ‘अपूर्ण’
मानवीय संवेदना हराउँदै गएको डिजिटल संसार, भौतिक प्रविधिको तीव्र विकास, युद्ध र अपराधका संगीन डोबहरू ⁄ चिमोट्दा पनि नदुख्ने भएको छ आजको संसारिक मान्छे, एकांकी बन्दै गएको छ जगत्। त्यस्तै भैसकेँ कि जस्तो लाग्छ आफूलाई पनि ? कवि विनोद दाहाल ‘एकलभ्या’को अन्धो भूगोल हेर्दाहेर्दै शुरुकै कवितामा ‘ब्रेक’ लाग्छ आँखाको गति। गौर गरेर सोच्छु, सोध्छु आफैँलाई। हो, मान्छे किन मान्छे हुन सक्दैन ? कविको पहिलो कविताको शुरु पंक्ति दोहो¥याएर पढ्छु–
नियमबद्धताको निस्तो मुख

हाँसोको निर्वाद संर्सगमा
गिज्जिएर संवेदनाहरू मरेपछि
मान्छे किन मान्छे हुन सक्दैन ?
प्रश्न उत्तर, प्रश्न अनुत्तर कस्तो सचेतन मूर्दापन ? (बेवारिस विषहरू)

पूर्वपत्रकारसमेत हुनुको नाताले सक्रिय पत्रकारिताकालीन जीवनका ‘नोस्टाल्जिया’हरू कविता बनेर प्रस्फुटित भएका छन् ‘समाचारपत्र’ शीर्षकको कवितामा। कुनै बेला नेपाल समाचारपत्रसँग जोडिएका दाहालले प्रतिकात्मकरूपमा ‘समाचारपत्र’ शीर्षकमा लेखेको कविता आमइमानदार पत्रकारको सामूहिक आवाज हो भन्दा अत्युक्ति नहोला।

यस्तै–यस्तै ४४ वटा कविताको सङ्गालो हो अन्धो भूगोल। ओरिएन्टल पब्लिकेसन हाउस प्रालिद्वारा प्रकाशित यो संग्रह ६६ पृष्ठ र ७० रुपियाँ मूल्यको छ। अन्त्यमा, शब्दका सर्जनहरूप्रति समर्पित यो संग्रहको शीर्षकमै प्रयोग भएको ‘अन्धो’, अन्य कवितामा अनायसै आएका अन्धो युग, कुँजिएका, पागल मूर्दा, वेश्याजस्ता शब्दहरूले समाजमा फरक परिवेशमा जिइरहेको एउटा तप्काको चित्त दुख्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छु।