क्षमता विस्तार गर्दै निगम

0
Shares

दीपेन्द्र थापा, काठमाडौं

नेपालको वार्षिक पेट्रोलियम पदार्थको खपत २० प्रतिशतका दरले वृद्धि हुने गरेको अवस्थामा नेपाल आयल निगमले ९० दिनको खपत धान्ने भण्डारण क्षमता विकास गर्न लागेको छ। निगमले आगामी ५ वर्षभित्रमा ७ वटै प्रदेशमा ९० दिनको भण्डारण क्षमता विस्तार गर्न लागेको हो।

भण्डारण क्षमता बढाउन सरकारको निर्देशन बमोजिम अगाडि बढाएको नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै भट्टराईले निगमले हाल आन्तरिक परार्मशदाता नियुत्ति गर्ने गृहकार्यको काम भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘भण्डारण क्षमता वृद्धि गरी अहिलेको मौज्दातअनुसार ९० दिनको पुर्याइँदै छ। त्यसका लागि अहिले लागत स्टेटमेन्टको प्रक्रिया अगाडि बढेको छ।’

निगमले ९० दिन खपत धान्न आवश्यक पर्ने थप ५ लाख ३० हजार किलोलिटर पेट्रोल, डिजल, मटितेल, एलपी ग्यास र हवाई इन्धन भण्डारण क्षमता विस्तार गर्न लागेको निमित्त प्रमुख भट्टराईको दाबी छ। वर्षेनी वृद्धि हुँदै गरेको पेट्रोलियम पदार्थको खपतको प्रमुख कारण प्रतिदिन सवारी चाप रहेको छ भने अर्काे भारतमा भन्दा नेपालमा इन्धनको मूल्य कमि हुँदा पनि खपत बढेको उहाँले बताउनुभयो।

पेट्रोल भण्डारण क्षमता ९ हजार किलोलिटर, दैनिक खपत १ हजार ४ सय किलोलिटर, धान्ने क्षमता ६ दिन, डिजेल भण्डारण क्षमता ४२ हजार किलोलिटर, दैनिक खपत ५२ हजार किलोलिटर, खपत धान्ने क्षमता ८ दिन रहेको छ। निजी ग्यास कम्पनीको ५६ ग्यास प्लान्टमा ६ हजार मेट्रिक टन, दैनिक खपत ३४ हजार मेट्रिक टन रहेको छ।
यसैगरी हवाई इन्धनको मौज्दात ८ हजार ४ सय ९९ किलोलिटर हवाई इन्धनमा १० दिन खपत क्षमता रहेको छ।

 

निगमका अनुसार हाल राष्ट्रिय रूपमा निगमको भण्डारण क्षमता पेट्रोलमा जम्मा ८ हजार ६ सय किलोलिटर रहेको छ भने दैनिक बिक्री परिमाण १ हजार ४ सय किलोलिटर रहेको छ। यस हिसाबमा भण्डारणले देशभरको माग ६ दिनसम्म धान्ने छ। यसमध्ये उपत्यकामा मात्र दैनिक ५ देखि ७ सय किलोलिटर खपत हुँदै आएको छ।

त्यस्तै डिजेलमा देशभरको भण्डारण क्षमता ४२ हजार किलोलिटर रहेकोमा दैनिक ५ हजार २ सय किलोलिटर खपत रहेको छ। ४ हजार २ सय भण्डारणले ६ दिनसम्म देशभरिको मागलाई धान्न सक्ने निगमको दाबी छ। एलपी ग्यासमा भने निगमसँग हालसम्म अतिरिक्त भण्डारण छैन। तर निजी ग्यास उद्योगीसँग भएको क्षमताले देशको करिब ५ दिनसम्म माग धान्न सक्ने निमित्त प्रमुख भट्टराईको भनाइ छ। निजी ग्यास कम्पनीको ५६ ग्यास प्लान्टमा ६ हजार मेट्रिक टन क्षमता रहेको छ। एलपी ग्यासको हाल दैनिक खपत ३४ हजार मेट्रिक टन रहेको छ।

यसैगरी हवाई इन्धनको मौज्दात ८ हजार ४ सय ९९ किलोलिटर हवाई इन्धनमा भने १० दिनको मौज्दात क्षमता रहेको छ। मट्टितेलको भने १६ हजार ३ सय १४ किलोलिटर मौज्दात छ। निगमले ३ नम्बर प्रदेशमा अत्याधिक इन्धन खपतलाई सम्बोधन गर्नको लागि चितवन, ललितपुर र नुवाकोटको त्रिशूलीमा भण्डार केन्द्र बनाउन लागेको हो। चीन र भारतबाट दुवै देशबाट इन्धन आयत गर्न सजिलो होस् भनेर निगमले त्रिशूलीमा भण्डार केन्द्र बनाउनको लागेको निमित्त प्रमुखले बताउनुभयो। निगमले दु्रतमार्गलाई ध्यानमा राखेर पनि निगमले ललितपुरमा पनि भण्डार गर्न लागेको हो भने सपोर्टका लागि चितवनमा निर्माण गर्न लागेको हो।

केही समय अगाडि निगमले काभ्रेमा १० हजार मेट्रिक टन एलपी ग्यास भण्डारण संरचना निर्माण गर्न सम्भाव्यता अध्ययन गरेको थियो। प्रदेश नम्वर ४ को लागि भने तनहुँको खैरेनीमा भण्डार केन्द्र बनाउन लागेको हो। त्यसका लागि सरकारले पनि जग्गा दिने योजना बनाएको छ भने निगमले पनि जग्गा खरिद गर्ने योजना बनाएको छ। हाल निगमले १, ३ र ५ नम्बर प्रदेशमा नयाँ जग्गा खरिद गर्ने खोजेको छ भने ५, ६ र ७ नम्बर प्रदेशमा समेत जग्गा खरिद गर्न योजना बनाएको छ।

जग्गाको आकार अनुसार भण्डारण केन्द्र बन्ने भएकाले जग्गा प्राप्त गर्नको लागि निगम लागि परेको निगमको धारणा छ।निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि न्यूनतम ९० दिनको माग धान्न सक्ने गरी नेपाल आयल निगमको भण्डारण क्षमता वृद्धि गर्न विभिन्न ठाउँ पहिचान गरी जग्गा खरिद गरिरेको र भण्डारण गृह बनाउन लागि परेको निगमले जनाएको छ। निगमले उपत्यकाको र आसपासको मागलाई सम्बोघन गर्न निगमसँग भएको ट्याङ्कीलाई स्तरोन्नत्ति गरी पेट्रोलमा ५ हजार ३ सय भण्डारण क्षमता बढाएको छ। पेट्रोलमा हालको जम्मा भण्डारण क्षमता ७१ हजार किलोलिटर रहेको छ।

निगमले सातै प्रदेशमा भण्डारण गर्न लक्ष्य अनुरूप झापा, सर्लाही, चितवन भैरहवामा जग्गा खरिद गरिसकेको र अरू ठाउँमा पनि खरीद प्रक्रियाको लागि गृहकार्य भइरहेको निगमका निमित्त प्रमुख भट्टराईले बताउनुभयो।

सरकारको तथ्यांकमा हेर्दा उपत्यकाको १६ सय ५० किलोमिटर सडकमा १० लाख बढी सवारी साधन दैनिक आवतजावत गर्ने गर्दछन्। २०४६ सालदेखि २०७४ सालसम्म सबै प्रकारका सवारी गरी कुल २७ लाख ८३ हजार ४ सय २८ सवारी दर्ता भएको तथ्यांक यातायात व्यावस्था विभागसँग छ।

विभागको तथ्यांकअनुसार तीमध्ये सबैभन्दा बढी बाग्मती अञ्चल कार्यालयमा मात्रै २०४६ देखि २०७४ सम्म १० लाख ४२ हजार ८ सय ५६ वटा साना तथा ठूला सवारी साधन दर्ता भएको देखिन्छ। उपत्यकामा मात्र ८ लाख ७६ हजार ४ सय ७३ दुई पाङग्रे सवारी रहेका छन्।