फेरि अदुवा निर्यातमा अवरोध

0
Shares

गणेश घिमिरे, इलाम
रतले विभिन्न बहाना बनाएर फेरि नेपाली अदुवा निकासीमा रोक लगाएको छ। विभिन्न बहानामा पटक–पटक निकासीमा रोक लगाउन थालेपछि कृषक तथा व्यपारी दुवै मारमा परेका छन्।

भारतले नेपाली अदुवा सफा नगरी आएको भन्दै निकासीमा रोक लगाएपछि पाँच/छ दिनदेखि निर्यात ठप्प भएको इलामका अदुवा व्यवसायीले बताएका छन्। देशभरको अदुवा अहिले काँकरभिट्टा नाकाबाट मात्र भारत जाने गरेको छ। भारतले यसअघि विषादी प्रयोग भएको, चीनको अदुवा नेपाल हुँदै भारत पुर्याउने गरेको भन्दै निकासीमा रोक लगाएको थियो। तर, यसपटक अदुवा सफा नगरी आएको ल्याएको भन्दै नेपाली अदुवामा भारतले रोक लगाएको हो।

नेपाली अदुवाको व्यापारमा ब्रेक लगाउने प्रयासस्वरूप पछिल्लोपटक भारतले अवरोध गरेको इलामका अदुवा व्यवसायी कृष्ण पौडेलले बताउनुभयो। काँकरभिट्टा र वीरगन्ज नाकाबाट चिनियाँ अदुवा भित्रिने–जाने गरेको आरोप भारतीय पक्षको थियो। अहिले आरोप फेरिए पनि समस्या उस्तै रहेको पौडेल बताउनुहुन्छ। सूर्योदय नगरपालिका फिक्कलका अदुवा व्यापारी नारद धितालका अनुसार बीउ अदुवा प्रतिकिलो २५ रुपियाँ र भारत जाने अदुवा प्रतिकिलो औसत १५ रुपियाँमा कारोबार भइरहेको छ। अहिले बारीमै अदुवा थुप्रिएको उहाँको भनाइ छ।

भारतले नेपाली अदुवामा रोक लगाएपछि इलामका व्यापारीले अदुवा खरिद गर्नै छाडिसकेको माईजोगमाई गाउँपालिकास्थित नाम्सालिङका कृषक गणेश अधिकारीले बताउनुभयो। बजार छैन भन्दै व्यापारीहरू गाउँमा अदुवा किन्न जान छोडिसकेका छन्। अदुवा बिक्री नै नभएपछि आउँदो वर्ष रोप्ने–नरोप्ने अन्योलमा कृषकहरू पर्न थालेका छन्।

अदुवा उत्पादकदेखि व्यवसायीसम्मले गुणस्तरमा ध्यान नदिएकाले पनि समस्या आएको कतिपय कृषकहरू पनि स्वीकार्छन्। व्यपारीहरूका अनुसार मापदण्डअनुसार बोक्रा फालेको वा नफालेको सुकेका विभिन्न आकारको अदुवाको गानो, चिस्यान १२ प्रतिशतभन्दा कम भएको, बाह्य पदार्थ २ प्रतिशतभन्दा कम भएको, सुगन्धित तेल एक प्रतिशतभन्दा बढी भएको, क्याल्सियम अक्साइड ४ प्रतिशतभन्दा कम भएको र कुनै रङको प्रयोग नभएको अदुवा निर्यातयोग्य हुन्छ। मापदण्डअनुसार नहुँदा नेपालबाट भारत पुर्याउने अदुवाको कानुनी हैसियतसमेत नबनेकाले समस्या पर्ने गरेको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काको भनाइ छ।

इलाम–पाँचथरमा उत्पादक अदुवा व्यपारीमार्फत् झापाको धुलाबारी हँुदै भारत निकासी हुने गरेको छ। अदुवा बिक्री नहुँदा इलामका १२ हजार नौ ३२ परिवार किसान प्रभावित भएका छन्। यो वर्ष फेरि इलाममा अदुवाको उत्पादनसमेत बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लामा सरदर तीनहजार २ सय ३३ हेक्टरमा अदुवा खेती भएर ४५ हजार नौ सय ९४ टन वार्षिक उत्पादन हुने गरेको छ। नेपालमा इलामसहित २६ जिल्लामा अदुवा खेती हँुदै आएको छ। यहाँको उत्पादन ९४ प्रतिशत भारत निर्यात हुने गरेको छ। अन्य सुठोका रूपमा अन्य देशमा जाने गरेको छ।

भारतले नेपालको अदुवा खरिदका लागि मेची एक्सपोर्टलाई मात्र अनुमति दिएको छ। अन्य कम्पनीलाई अदुवा खरिदको अधिकार नदिएकाले मेची एक्सपोर्टले विभिन्न बहानामा अदुवा खरिद रोक्ने गरेको छ। नेपाली अदुवा निकासिमा भारतले पटक–पटक अवरोध सिर्जना गरे पनि अदुवा निर्यात समस्या सुल्झाउन नेपाल असफल बनिरहेको छ।

यसअघि विषादी प्रयोग भएको, चीनको अदुवा नेपाल हुँदै भारत पुर्याउने गरेको भन्दै निकासीमा रोक लगाएको थियो। तर, यसपटक अदुवा सफा नगरी आएको ल्याएको भन्दै नेपाली अदुवामा भारतले रोक लगाएको हो।