हिमाल आरोहणकी विकिपिडिया ‘हली’को निधन

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपालका हिमाल आरोहणबारे अध्ययन गर्दै आउनुभएकी न्युजिल्यान्डकी नागरिक एलिजाबेथ हलीको निधन भएको छ। हलीको ९४ वर्षको उमेरमा काठमाडौंको सिविक अस्पतालनमा निधन भएको हो।
हली नेपालका अग्ला हिमाल आरोहणबारे विगत ५ दशकभन्दा लामो समयदेखि अभिलेख राख्ने र अध्ययनमा सक्रिय हुनुहुन्थ्यो। हली पत्रकारसमेत हुनुहुन्थ्योे। उहाँले नेपालबाट विभिन्न विदेशी समाचार संस्थाका लागि समाचार पठाउने गर्नुभएको थियो। उहाँ रोयटर्स र टाइमजस्ता प्रतिष्ठित पत्रिकामा काम गर्नुहुन्थ्यो।

सन् १९२३ मा न्युजिल्यान्डमा जन्मिएकी हलीले अमेरिकाको मिसिगन विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो। सन् १९६० मा पहिलोपटक नेपाल आउनुभएकी हली त्यसयता नेपालमा नै बस्दै आउनुभएको थियो। न्युयोर्कस्थित फच्र्युन पत्रिकामा अनुसन्धानकर्ताका रूपमा काम गरिरहँदा उहाँ जागिर छोडेर विश्व भ्रमणका क्रममा काठमाडौं आउनुभएको थियो।

त्यसपछि उहाँ हिमालबारे अनुसन्धान गर्न प्रेरित हुनुभयो र सन् १९६३ देखि हिमाल आरोहणसम्बन्धी विवरण संकलन गर्न थाल्नुभयो। उहाँले ‘द हिमालयन डाटाबेस’ नामक वेबसाइटमा पर्वतारोहणसम्बन्धी सबै अभिलेख तथ्यांकसहित राख्नुभएको छ। उहाँलाई कुन हिमालमा कुन समय को कहाँबाट चढ्यो र त्यतिबेलाको मौसम कस्तो थियो भन्नेसम्मको तथ्यांक रहेको जानकारहरू बताउँछन्। ‘द हिमालयन डाटाबेस’मा नेपालका ३ सयभन्दा बढी हिमालका ८० हजारभन्दा बढी आरोहणबारे सूचना छन्।

नेपालका हिमाल आरोहणका सफलता तथा असफलतालगायतका विषयमा भएका कयौं अध्ययन अनुसन्धानमा उहाँका सूचना उपयोग भएका छन्। आरोहण अध्येता हलीले सन् १९८८ देखि सन् २००७ सम्म नेपालबारे लेखेका सामग्रीलाई संकलन गरी तयार पारिएको ‘द नेपाल शिन’ नामक पुस्तकको दुई भाग प्रकाशितसमेत भएको छ।

नेपाल सरकारले सन् २०१४ मा पुठा हिउँचुलीको एउटा चुचुरोलाई उनको सम्मानमा ‘पीक हली’ नामकरण पनि गरेको छ। सरकारले नेपाली पर्वतारोहण क्षेत्रमा उहाँले पु¥याएको अमूल्य योगदानलाई कदर गर्दै नेपाल–चीन सीमानामा पर्ने ६ हजार १ सय ८२ मिटर अग्लो चुचुरोलाई ‘पीक हली’ नामाकरण गरेको हो।

हली पहिलो पटक सगरमाथाको सफल आरोहणपछि एडमन्ड हिलारीले स्थापना गरेको ‘द हिमालयन ट्रस्ट’को अध्यक्षसमेत हुनुहुन्थ्यो। हली नेपालका लागि न्युजिल्यान्डकी अवैतनिक वाणिज्य दूतसमेत नियुक्त हुनुभएको थियो।