उम्मेदवारविरुद्ध उजुरी परेन



काठमाडौं, (नेस)
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको आज बिहीबार र भोलि शुक्रबार दाबी विरोधका लागि समय तोकिएको छ। माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा सातै प्रदेशमा ५६ सिटमा लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार आयोगले माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवार उपर दाबी विरोध उजुरी दर्ता गर्न सकिनेछ जनाएको छ।

यस्तै माघ १३ गते उम्मेदवारीमाथिको उजुरी निवेदनमा जाँचबुझ गर्दै निर्णय लिने आयोगले १४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने भएकाह्छ। १५ गते उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ। सोही दिन आयोगले चुनाव चिह्न पनि प्रदान गर्ने भएको छ। यसैगरी निर्विरोध हुने उम्मेदवारहरूको औपचारिक घोषणा १५ गते गर्ने आयोगले जनाएको छ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल प्रत्येक प्रदेशबाट ८ जना निर्वाचित हुनेछन्।

निर्वाचित हुनेमा महिला तीन जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना र अन्य तीन जना निर्वाचित गर्नुपर्ने व्यवस्था रहेको छ। ५९ सदस्यीय राष्ट्रियसभाका लागि ५६ जना निर्वाचनबाट चुनिएर आउनेछन्। राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। जसमा १ जना महिला अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्