दीर्घ रोगी बिरामीलाई जीविकोपार्जन भत्ता वितरण

0
Shares

भगवती तिमिल्सिना, काठमाडौं

सरकारी अस्पताल ट्रमा सेन्टर वीर अस्पतालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले स्पाइनल इन्जुरी, मृगौला र क्यान्सरको उपचार गराइरहेका २७ जना बिरामीलाई जीविकोपार्जन भत्ता हस्तान्तरण गर्नुभयो।

प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगी ट्रमा सेन्टरमा स्पाइनल इन्जुरी भै प्यारालाइसिसको उपचार गराइरहेका ६ जना र वीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ११ जनालाई र मृगौलाको उपचार गराइरहेका १० जना गरी २७ जना बिरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरी बिरामीको जीविकोपार्जन भत्ता वितरणको उद्घाटन गर्नुभयो।

बिरामीलाई चेक हस्तान्तरण गर्दै प्रधानमन्त्री देउवाले जटिल रोगबाट पीडित बिरामीका लागि राज्यका तर्फबाट थोरै भए पनि राहत दिन भत्ताको व्यवस्था गरिएको जानकारी गराउनुभयो। प्रधानमन्त्री देउवाले विपन्न नागरिक कोषमा जम्मा भएको रकम वितरण गर्दा पछिल्लो सरकारलाई भार नभई बिरामीलाई राहत पुग्ने बताउनुभयो।उहाँले भन्नुभयो– ‘हामीले सूर्तिको कर बढाएका छौं र त्यसैबाट उपलब्ध हुने रकमबाट यसको व्यवस्थापन गरिनेछ।’

सोही अवसरमा स्वास्थ्यमन्त्री दीपक बोहराले भत्ता बाँड्ने अभियान राजनीतिक नभई विशुद्ध सामाजिक भएको बताउनुभयो। उहाँले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार रकमको व्यवस्था गरिएको भन्दै सूर्ती करकोषमा आउनुपर्ने २५ प्रतिशत रकमबाटै बिरामीका लागि मासिक भत्ताको व्यवस्था मिलाएको बताउनुभयो।
उहाँले हालसम्म उपचारका लागि १ लाख सुविधा लिई थप उपचार गराइरहेका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराएको बताउनुभयो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान् (न्याम्स) का उपकुलपति प्राडा. गणेश गुरुङले जटिल रोगका बिरामीका लागि सरकारको तर्फबाट भएको भत्ता दिने निर्णयले बिरामी र बिरामीका आफन्तलाई थोरै भए पनि राहत महशुस भएको बताउनुभयो।

सोही अवसरमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. विनोदमान श्रेष्ठले राहत दिनका लागि विपन्न नागरिकको छनोट गर्नका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला अस्पतालका प्रमुखलाई सदस्य र जिल्ला जनस्वास्थ्य प्रमुख सदस्य सचिव रहने गरी छनोट समिति गठन गरिएको छ।

सोही समितिले सिफारिस गरेको आधारमा बिरामीलाई विपन्न भत्ता उपलब्ध गराउने व्यवस्था रहेको जानकारी गराउनुभयो। उहँँले जीविकोपार्जन भत्ताका लागि अर्थ मन्त्रालयले २० करोड रुपियँँ उपलब्ध गराएको जानकारी गराउनुभयो।

कार्यक्रममा न्याम्सका रजिस्ट्रार डा. किरण रेग्मीले राम्रो कार्यको थालनी भएको बताउनुभयो। त्यसैगरी वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नुका साथै यस वर्ष वीर अस्पतालमा १ हजार १ सय ६५ जनाले क्यान्सर उपचारको सेवा लिएका र २ हजार ८ सय मृगौलाका बिरामीको निःशुल्क डायलाइसिस गरिसकेको जानकारी गराउनुभयो।