६ महिनामा ४७ करोड राजश्व संकलन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

करदाता सेवा कार्यालय धुलिखेलमा चालु वर्षको ६ महिनामा ४७ करोड ७२ लाख राजश्व संकलन भएको छ । राजश्व संकलनमा सहकारीहरुको योगदान सबै भन्दा धेरै रहेको छ ।

जिल्लामा धेरै आयकर बुझाउने वित्तिय संस्थाहरु हुन् । गत आर्थिक वर्षको पुष मसान्तसम्म १ करोड ५९ लाख आय कर बुझाएका जिल्लाका वित्तिय संस्थाहरुले चालु वर्षको पौष मसान्तसम्म ३ करोड ३६ लाख आयकर बापत राजश्व बुझाए । वित्तिय संस्थाहरु मध्ये सहकारी धेरै आयकर बुझाउने करदाता मध्ये पहिलो नम्वरमा पर्न थालेका छन् । गत आर्थिक वर्षको यहि अवधीमा ३६ करोड ७५ लाख राजश्व संकलन भएको थियो । झण्डै ११ करोड राजश्व चालु वर्षमा थपिएको छ ।

चालु वर्षको ६ महिना अथार्थ पौष मसान्तसम्ममा सबै भन्दा धेरै पारिश्रमीक आय करमा ६ करोड ८१ लाख राजश्व संकलन भएको छ । त्यस्तै ब्यक्तिगत आयकरमा ५ करोड ३१ लाख, पुजिंगत लाभ करमा ४ करोड ५९ लाख, पब्लिक लिमिटेड कम्पनिबाट २ करोड १५ लाख, अन्य निकाय सहकारी मार्फत ३ करोड ३६ लाख राजश्व सकंलन भएको छ ।

त्यस्तै बाहालकरबाट १ करोड ६१ लाख, ब्याज करबापत ४ करोड ४२ लाख र सामाजिक सुरक्षा करबापत २ करोड ५५ लाख संकलन भएको छ । भ्याट तर्फ १ करोड ३५ लाख, विक्रि वितरणबाट ३ करोड ३३ लाख, पर्यटन ब्यवसायबाट १ करोड ८० लाख राजश्व संकलन भएको छ । मदिराबाट ३५ लाख ८२ हजार, शिक्षा सेवा शुल्कबाट १९ लाख ९४ हजार संकलन भएको छ । स्वास्थ्यमा ८ लाख ८ हजार राजश्व संकलन भएको करदाता सेवा कार्यालय धुलिखेलका कर अधिकृत शंकरप्रसाद खनालले जानकारी दिए ।

गत वर्षको यो अवधीमा पुजिंगत लाभकरमा ५ करोड ५७ लाख रकम संकलन भएको थियो । त्यस्तै पारिश्रमीक आय करमा ४ करोड ६४ लाख राजश्व संकलन भएको थियो । त्यस्तै ब्यक्तिगत एकलौटीमा आयकरमा ३ करोड ५१ लाख, पब्लिक लिमिटेड कम्पनिबाट ३ करोड ६८ लाख, प्रालीबाट ७४ लाख ४९ हजार, अन्य निकाय सहकारी मार्फत १ करोड ५९ लाख राजश्व सकंलन भएको थियो । त्यस्तै बाहालकरबाट १ करोड ७ लाख, ब्याज करबापत ४ करोड १० लाख र सामाजिक सुरक्षा कर बापत १ करोड ९१ लाख संकलन भएको छ । भ्याट तर्फ उत्पादन तर्फ ९० लाख १ हजार, विक्रि वितरणबाट ३ करोड ६६ लाख, सेवाबाट १ करोड ६६ लाख, शिक्षा सेवा शुल्कबाट १३ लाख ९५ हजार र स्वास्थ्यबाट ७ लाख १५ हजार राजश्व संकलन भएको थियो ।

गत आर्थिक वर्षको ६ महिनाको अवधी भन्दा चालु वर्षको यो अवधीमा सहकारी, शिक्षा, पारिश्रमीक लगायत अधिकांश क्षेत्रबाट धेरै राजश्व संकलन भयो । सामाजिक सुरक्षा कर लगायतका केहि शिर्षकहरुमा मात्रै गत वर्ष भन्दा कम राजश्ब संकलन भएको छ । सहकारीहरुले पनि गत वर्ष भन्दा दोब्बर आय कर चालु वर्षमा बुझाएका छन् । करदाता सेवा कार्यालयको मुख्य श्रोत वित्तिय क्षेत्रको आय कर बन्न थालेको छ । सरकारबाट कर छुटको मान्यता प्राप्त नेपालकै नमुना धुलिखेल सामुदायिक अस्पतालले कर्मचारीहरुको पारिश्रमीक बापत २८ करोड ८८ लाख ३२ रुपैया पारिश्रमीक कर बुझाएको छ । यति धेरै कर तिर्ने धुलिखेल अस्पताल ठुला करदातामा समावेश हुनु पर्ने भए पनि सहजताका हिसावले अस्पतालले करदाता सेवा कार्यालय धुलिखेलमै पारिश्रमीक बापतको कर बुझाउँदै छ अस्पताललले तिर्नु पर्ने अन्य कर सरकारले छुट गरेको छ ।

करदाता सेवा कार्यालय धुलिखेलको तथ्याङ्क अनुसार जिल्लामा सबै भन्दा धेरै स्वरोजगार लघु वित्त संस्थाले आर्थिक वर्षको अन्त्यमा १ करोड ३८ लाख रकम आय कर बापत बुझाएको छ भने विन्धबासिनी सहकारीले १ करोड ३३ लाख रकम बुझाएको छ । विन्धबासिनी भन्दा पाँच लाख मात्रै धेरै बुझाएको स्वरोजगार लघु वित्त त्यति धेरै जिल्लाबासिहरुका बीच परिचित छैन । पनौतीमा रहेको सामुदायिक साकोसले ६६ लाख रकम आय कर बापत बुझाएको थियो । ज्योति मिर्मिरे सहकारीले ८ लाख रकम आयकर बापत बुझाएका छन् । नयाँ नेपाल लघु वित्तले ५८ लाख, सामुदायिक लघु वित्तले ४७ लाख आय कुर बुझाएका छन् ।

चालु वर्षका लागि आय करको पहिलो किस्ता बापत विन्धबासिनीले ६६ लाख रकम बुझाईसकेको छ भने बुडोल साकोसले २० लाख बुझाएको छ । केहि सहकारीहरुले ब्यवसाय गर्दै विभिन्न शिर्षकमा रकम लुकाएर आम्दानी कम देखाएका कारण अरबौको कारोबार गर्ने संस्थाहरुले समेत लाखमा मात्रै आयकर बुझाउँदै आएका छन् । सहकारीहरुको नियमन र अनुगमन हुन नसक्दा सहकारी मार्फत प्राप्त हुने राजश्वमा अझै कमि भएको छ । जिल्लामा रहेका उद्योगी ब्यवसायीहरुलाई उछिन्दै सहकारीहरु कर बुझाउनेमा अग्रणी संस्थाका रुपमा चिनिन थालेका छन् ।

आर्थिक वर्ष २०७३÷२०७४ को अन्त्यसम्ममा जिल्लामा भ्याटमा दर्ता भएका २ हजार ६६ करदाताहरुको संख्या आर्थिक वर्ष २०७४÷२०७५ को पौष मसान्तसम्म २ सय ३६ वटा थपिएका छन् । प्यान र भ्याट गरी जिल्लामा १६ हजार ८ सय ८८ करदाताहरु करदाता सेवा कार्यालयमा पुगेर कर बुझाएका छन् । साउन देखि पौष मसान्तसम्म प्यानमा दर्ता हुने सेवाग्रहीहरु २७ सय ४८ रहेका छन् ।