पियोङचाङ ओलम्पिक्सलाई “प्योङयाङ ओलम्पिक्स”को संज्ञा


सोल, (एजेन्सी)
दक्षिण कोरियाको राष्ट्रपति भवन ब्ल्यु हाउसले मंगलबार आगामी महिना आफ्नो राष्ट्रमा हुन गइरहेको हिउँदे ओलम्पिक्स खेलकुद प्रतियोगितालाई उत्तर कोरियाले अपहरण गर्यो भन्ने कुराको आलोचना गर्दै यस कार्यक्रमले प्योङयाङको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमको कारण सिर्जित अन्तर्राष्ट्रिय तनाव कम पार्ने जनाएको छ ।

दक्षिण कोरियाको रिसोर्ट शहर पियोङचाङमा आयोजना हुन लागेको ओलम्पिक्समा उत्तर कोरियाको सहभागितालाई लिएर सोलका केही विपक्षी राजनीतिज्ञ र अनुदारवादीहरुले आलोचना गर्दै यसलाई ‘प्योङयाङ ओलम्पिक्स’को संज्ञा दिएका छन् ।
ब्ल्यु हाउसका प्रवक्ता पार्क सो ह्युनले पत्रकार सम्मेलनमा भनेका छन्– ‘एक महिनाअघि मात्र उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा भयावह तनाव उत्पन्न भएको थियो । उक्त समस्या समाधानका लागि भएको द्विपक्षीय उच्चस्तरको वार्ताको क्रममा उत्तरले ओलम्पिक्समा भाग लिने सहमति भएको हो ।’

हामीलाई यसै ओलम्पिकसले कोरियाली प्रायद्वीप, उत्तरपूर्वी एसिया तथा विश्वमै शान्ति स्थापनाको थालनी गर्ने कुरामा हामी विश्वस्त छौं । यी दुई राष्ट्रका संयुक्त महिला आइस हकी टोली बनाउने संयुक्त झण्डामुनि मार्चपास गर्नेजस्ता केही योजना विवादमा आएका थिए ।

अनुदारवादी र दक्षिण कोरियाका युवाहरुले उत्तर कोरियाली नेता किम जोङ उनले ओलम्पिक्सको आकर्षण चोरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको नेतृत्वमा रहेको उदारवादी सरकारको आफ्ना खेलाडीहरुलाई संयुक्त तालिमका लागि उत्तर कोरियाको एउटा स्कि रिसोर्टमा पठाउने प्रस्ताव अहिले दबाबमा परेको छ । सोलका केही विशेषज्ञहरुले यस कदमबाट किमको वैधानिकतालाई मान्यता मिल्ने तथा थुप्रै पैसा खर्च हुने चिन्ता व्यक्त गरेका छन् ।