७४ भन्दा ७५ साल राम्रो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
पञ्चाङ्ग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको छ। समितिको अध्यक्ष, सदस्य सचिव र ७ सहित ९ जनाको समितिले सो पात्रो तयार पारेको हो। समितिको चार दिनअघि बसेको बैठकले तयार गरेको पात्रोअनुसार २०७५ सालको दशैं असोज २४ गतेदेखि शुरू हुनेछ। विजयादशमी भने कात्तिक २ गते परेको छ। यस्तै ३० गते फूलपाती, ३१ गते महाअष्टमी, १ गते महानवमी पर्व परेको छ।कात्तिक १९ गतेदेखि शुरू हुने तिहारअन्तर्गत २१ गते लक्ष्मीपूजा, २२ गते गोवर्धन एवम् म्ह पूजा र २३ गते भाइटीका रहेको छ। गृह मन्त्रालयले बिदाको सूचना जारी नगरे पनि निर्णायक समितिले केही दिनभित्र पात्रो सार्वजनिक गर्ने तयारी गरेको छ। पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष पण्डित रामचन्द्र गौतमले निर्णय गरेर गृह मन्त्रालयलाई पठाइसकेको र मन्त्रालयको निर्णयपछि सो पात्रो सार्वजनिक गरिने बताउनुभयो।

गृह मन्त्रालयले आग्रह गरेपछि समितिले करिब एक महिनाअघि नै सबै तिथि, मिति र पर्वसहितको तालिका उपलब्ध गराएको थियो। समितिले पात्रो निर्माण गर्ने १३ वटा संस्थालाई पात्रो छपाइको स्वीकृति दिइसकेको छ। भित्तेपात्रो (क्यालेन्डर) भने गृहले बिदा स्वीकृत गरेपछि सार्वजनिक हुने बताइएको छ।

उक्त समितिका अनुसार नयाँ सालमा वैशाख १ गते शनिबार नयाँ वर्ष, ११ गते लोकतन्त्र दिवस, १६ गते बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, साउन ११ गते गुरु पूर्णिमा, ३१ गते नागपञ्चमी, भदौ १० गते जनै पूर्णिमा, ११ गते गाईजात्रा, १७ गते कृष्ण जन्माष्टमी र २७ गते हरितालिका तीज परेको छ।
यस्तै असोज ३ गते संविधान दिवस, ७ गते इन्द्रजात्रा, मंसिर १० गते क्रिसमस, माघ २७ गते वसन्तपञ्चमी, फागुन २० गते महाशिवरात्री, चैत ६ गते फागु पूर्णिमा र २२ गते घोडेजात्रा रहेका छन्।

२०७५ सालको जेठमा मलमास परेकाले चाडपर्वहरू झन्डै एक महिनापछि सरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो। सो समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार २०७५ सालमा सूर्य ग्रहण नपरे पनि असार पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ।

समितिका अनुसार २०७५ सालमा विवाहको साइत धेरै परेका छन्। वैशाखमा ५, ६, २८, असारमा ६, ७, ९, ११, १५ र १६ तथा मंसिरमा २९ गते विवाहको साइत छ। यस्तै माघमा ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ र फगुनमा १, २, ७, ८, ९, १०, १३, १४, २३, २४ ,२५, २८ र २९ गते सो साइत परेको छ। असार ८ र ३१, माघ २७ र फागुन ९ गते गरी वर्षभरिमा चार दिनमात्र व्रतबन्धको साइत रहेको छ। अध्यक्ष गौतमले २०७५ साल यो वर्षभन्दा राम्रो रहेको बताउनुभयो।