कांग्रेस जिल्ला सभापतिको दबाब, हत्या गरिएका सबैलाई शहीद घोषणा गर

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले सशस्त्र द्वन्द्वका बेला माओवादीद्वारा हत्या गरिएका सबैलाई शहीद घोषणा गर्न माग गरेका छन्। खोटाङको हलेसीमा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरूको बैठकले सामाजिक सुरक्षा भत्तालाई अविलम्ब वृद्धि गर्न माग गर्दै तत्काल युवा बेरोजगार भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार सशस्त्र द्वन्द्वको समयमा माओवादीद्वारा हत्या गरिएका जुनसुकै दलका कार्यकर्ता अथवा सर्वसाधारण सबैलाई शहीद घोषणा गर्नुपर्ने कांग्रेस जिल्ला सभापतिहरूको बैठकले सरकारसँग माग गरेको हो।
जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्ने तयारीका लागि बसेको बैठकले केन्द्रीय नेताहरूसँग समन्वय गरी तत्काल भेलाको मिति तय गरिने निर्णय गरेका छन्। साथै, बैठकले परिवर्तित समयलाई सम्बोधन हुने गरी प्रस्तावित पार्टीको विधान परिमार्जन प्रस्ताव समिति पनि गठन गरेको छ।

काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यको संयोजकत्वमा गठित विधान परिमार्जन प्रस्ताव समितिमा धादिङ, सिन्धुली, पाँचथर र कालिकोटका जिल्ला सभापति सदस्य रहेका छन्। प्रत्येक प्रदेशको सहभागिता हुने गरी पछि सदस्य थपिने संयोजक आचार्यले जानकारी दिनुभएको छ। कांग्रेस जिल्ला सभापतिहरूको बैठकले गरिबीको रेखामुनि रहेका जनतालाई तत्काल परिचयपत्र वितरण गर्नुका साथै उनीहरूको न्यूनतम आधारभूत आवश्यकताको जिम्मेवारी राज्यले लिनुपर्ने जनाएको छ। बैठकले भूकम्पपीडितले घर बनाउने म्याद थप्नुपर्ने भन्दै कम्तिमा पनि ५ लाख रुपियाँ उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

जिल्ला सभापतिहरूले हिन्दु, बौद्ध र किरात धर्मालम्बीहरूको त्रिधार्मिक क्षेत्रको रूपमा ख्यातिप्राप्त खोटाङको हलेसीको वृहत्तर विकासका लागि सरकारले विशेष कार्यक्रम घोषणा गर्न माग गरेका छन्। कांग्रेस जिल्ला सभापतिहरूले नेपालको राष्ट्रिय हितको रक्षा हुने गरी सीमा अतिक्रमणको समस्या अबिलम्व समाधान गर्न पनि सरकारसँग माग गरेका छन्।

कांग्रेस जिल्ला सभापतिहरूले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार बन्न अवसर नपाएका जिल्ला सभापतिहरूलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन पार्टी केन्द्रीय नेतृत्व र संसदीय समितिसँग माग गरेका छन्।