वलीलाई उम्मेदवार बनाएपछि एमालेमा हंगामा

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं

नेकपा एमालेभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा पार्टीमा पुर्याएको योगदानभन्दा पनि मापदण्डविपरीत उम्मेदवार छनोट गरिएको भन्दै विवाद देखिएको छ। एमालेभित्र पार्टीले बनाएको मापदण्डको आधारभन्दा पनि नेताहरूको खल्तीबाट राष्ट्रियसभाका उम्मेदवार छनोट हँुँदा इमानदार नेताहरू ओझेलमा परेको भन्दै नेतृत्वको आलोचना भएको छ।

एमाले स्थायी समितिको बैठकले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यका लागि कोमल वलीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट टिकट पाउने चर्चा भए पनि अन्तिममा आएर पार्टीले वलीको नाम हटेको थियो। लगत्तै उहाँले बागी उम्मेदवारी दिएपछि एमालेका नेता शंकर पोखरेलको आग्रहमा उम्मेदवारी फिर्ता लिनुभएको थियो। राप्रपा परित्याग गरेर निर्वाचनको केहीअघि मात्र वली एमालेमा प्रवेश गर्नुभएको थियो।

नेकपा एमालेका युवा नेता ठाकुर गैरेले पार्टी स्थायी समितिले गरेको निर्णयको बारेमा आफ्नो खासै प्रतिक्रिया नरहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी स्थायी कमिटीमा कसरी छलफल भयो? नेताहरूले के मापदण्ड बनाएर निर्णय गर्नुभयो, यो विषय विस्तारै बाहिर आउला।’

एमालेभित्र वलीको नाम छनोट भएको विषयलाई लिएर पार्टी स्थायी समितिको बैठकमा समेत चर्काचर्की भएको बताइएको छ।

एमालेका एक स्थायी समिति सदस्यले भने– ‘मापदण्डअनुसार जाऔंभन्दा केही साथीहरूले वलीलाई नबनाइहुँदैन भनेर अडान लिएपछि निर्णय भएको हो।’ राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट सिफारिस भएकी कोमल वलीले भने आफ्नो विषयमा पार्टीभित्र देखिएको चासो र चिन्ता स्वाभाविक भएको प्रतिक्रिया दिनुभयो। उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘पार्टीको चिन्ता गर्ने, पार्टीको हरेक निर्णयमा खबरदारी गर्ने आवश्यक छ, उहाँहरूले खबरदारी गर्नुभएको छ।’ तपाईंको आलोचना भएको छ नि भन्ने जिज्ञासामा वलीले थप्नुभयो– ‘पार्टीको हरेक क्षेत्रमा खबरदारी हुन आवश्यक छ, मेरा लागि यो परीक्षा हो, कतिको सम्बोधन गर्न सक्छु, समयले देखाउनेछ।’

आफ्नो बारेमा आएको सभ्य प्रतिक्रियालाई सम्बोधन गरेर अगाडि बढ्ने बताउँदै उहाँले परीक्षामा उत्तीर्ण भएर देखाउन कोसिस गर्ने बताउनुभयो। ‘पार्टीभित्र सधैंभरि सकारात्मक टीकाटिप्पणी र चिन्ताको खाँचो हुन्छ’ –वलीले भन्नुभयो।