चोरिएर डेनमार्क पुगेका मूर्तिको तस्वीर प्रर्दशनी सम्पन्न विदेश पुगेका मूर्ति फर्काउन सकिन्छः पुरी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर

नेपालका विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेका महत्त्वपूर्ण एवं बहुमूल्य मूर्तिका तस्वीरहरूको तीनदिने प्रर्दशनी मंगलबार सम्पन्न भएको छ। भक्तपुरको दत्तात्रयस्थित ‘द हेरिटेज ग्यालरी’ मा १९ वटा मूर्तिको तस्वीर प्रर्दशनीमा राखिएको आरपी फाउन्डेसनका निर्देशक एवं सम्पदाकर्मी रविन्द्र पुरीले बताउनुभयो।

नेपालबाट हराएका मूर्तिको पहिचान गर्ने, विदेशी संग्रहालयमा पुगेका मूर्ति नेपाल फिर्ता ल्याउन पहल गर्ने उद्देश्यले मूर्तिको तस्वीर प्रर्दशनी गरिएको बताउँदै उहाँले मूर्ति कुन ठाउँको हो पहिचान गरिदिन सबैलाई आग्रह गर्नुभएको छ।

पुरीले भन्नुभयो– ‘नेपालका बहुमूल्य कलामा आधारित पुरातात्विक सामानहरू मूर्ति, हस्तलिखितग्रन्थ चोरी भएर विदेशी संग्रहालयमा पुगेका छन्, त्यसमध्ये डेनमार्कको संग्रहालयमा रहेका नेपालका मूर्तिहरूको तस्वीरको प्रर्दशनी गरेका छौं, यी मूर्ति कुन मन्दिर र कुन ठाउँको हो, पहिचान भए, हामी ती मूर्तिहरू डेनमार्कबाट फर्काउनेछौं।’ नेपालका विभिन्न मन्दिरमा पूजा गरिएका मूर्तिहरू अहिले विदेशी संग्रहालयमा रहेको बताउँदै उहाँले नेपालले अनुमोदन गरेको युनेस्को महासन्धिका आधारमा विदेशी संग्रहालयमा पुगेका मूर्तिहरू हाम्रो देशको भएको प्रमाण पेस गर्न सके नेपाल फिर्ता ल्याउन सकिने बताउनुभयो।

डेनमार्कका पीएचडीका विद्यार्थी उल्रिक जोह्सिनले आफ्नो थेसिसको सिलसिलामा डेनमार्कको मोइसगार्ड संग्रहालयबाट लिइएको नेपाल र नेपालसँग सम्बन्धित मूर्तिहरूको तस्वीर प्रदर्शनीका लागि राखिएको हो। पुरीले भन्नुभयो– ‘तस्वीरमा रहेका मूर्ति डेनमार्कको संग्रहालयमा छन्, नेपालबाट चोरिएर गएका हुन् भन्ने प्रमाणको खोजीमा हामी छौं, यदि यी फोटोको सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न सकियो र मूर्तिहरूको पहिचान गर्न सके, हामी ती मूर्तिलाई फर्काउन सक्छौं।’

डेनमार्कका विद्यार्थी उल्रिक जोह्सिनले आफूले पीएचडी गर्ने क्रममा थेसिसका लागि यी तस्वीरहरू संग्रहालयबाट लिएको बताउँदै यसलाई नेपालमा प्रर्दशनी गर्न पाउँदा आफू खुसी भएको बताउनुभयो।

प्रर्दशनीमा नेपालको १७औं शताब्दीदेखि १९औं शताब्दीसम्मका भैरवको बहुकलात्मक मूर्ति, १७औं शताब्दीको पित्तलको सिंह, १९औं शताब्दीको अर्को भैरव, श्रीकृष्ण, विष्णु, मञ्जुश्री, सिलाकु, फुर्वा, १८औं शताब्दीको मञ्जुश्री, हरियो तारा, दियो, तोरण, काठको बाकस, १७औं शताब्दीको भैरव, २०औं शताब्दीको कलात्मक मादल, कागजमा बनाएको कलात्मक चित्र, कागजको झण्डालगायतका तस्वीरहरू प्रर्दशनीमा राखिएका थिए।

नेपालबाट हराएका र नेपाल फिर्ता ल्याएका मूर्ति एवं कलात्मक बस्तुहरूको प्रतिमूर्ति निर्माण गरेर संग्रहित गर्नका लागि फाउन्डेसनले पनौतीमा निर्माण गर्न लागेको ढुङाका मूर्ति संग्रहालयमा राखिने भएको छ। नेपालबाट चोरी भएर पाश्चात्य मुलुक पुगेका हिन्दू र बौद्धधर्म सम्बन्धित ५० बहुमूल्य मूर्तिहरूको प्रतिमूर्ति प्रदर्शनीबाट यो संग्राहलय शुरु गर्ने उद्देश्य रहेको बताउँदै पुरीले भन्नुभयो– ‘त्यसका लागि सन् २०१८ भित्र ती प्रतिमूर्तिहरू तयार हुनेछन्, हालसम्म २६ वटा मूर्तिहरू तयार भइसकेका छन्, तयार भएका प्रतिमूर्तिहरू हेरिटेज ग्यालरी मै प्रर्दशनीमा राखिएको छ, आगामी २०१९ मा यो संग्राहलयको भवन शिलान्यास गरिने योजना छ।’

सन् २०१३ मा आफूहरूको पहलमा १२औं शताब्दीका हस्तलिखित ग्रन्थका गाताहरू फर्काउन सफल भएको स्मरण गर्दै उहाँले हामी सबै लागेमा चोरी भएर विदेश पुगेका मूर्तिहरू फर्काउन सकिने बताउनुभयो।